नयाँ नेतृत्व चयनका लागि काँग्रेसमा आज उम्मेदवारी मनोनयन दर्ता गरिंदै



काठमाडौं,२० असोज । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ। केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि आज दिउँसो १२ः३० बजेदेखि मनोनयन दर्ता सुरु हुने भएको हो।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिकाअनुसार केन्द्रीय कार्यसमितिको विभिन्न पदका लागि उम्मेदवारी मनोनयन दर्ताको समय दिउँसो १२ः३० बजेदेखि बेलुकी ४ बजेसम्म तोकिएको छ।

संशोधित कार्यतालिकाअनुसार आज बिहान ९ः३० बजेसम्म मतदाता नामावलीमाथि दाबी–विरोध गर्न सकिनेछ। त्यसपछि बिहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म दाबी–विरोधमाथि जाँचबुझ गरिनेछ। जाँचबुझ सम्पन्न भएपछि बिहान ११ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिको कार्यतालिका छ।

अन्तिम मतदाता नामावली प्रकाशनपछि दिउँसो १२ः३० बजेदेखि उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया सुरु हुनेछ। मनोनयन दर्ताका लागि बेलुकी ४ बजेसम्मको समय तोकिएको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार संशोधित निर्वाचन कार्यतालिकामा मनोनयन दर्तासहितका कार्यक्रम तोकिए पनि महाधिवेशनका अन्य कार्यक्रमहरू भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै सञ्चालन हुनेछन्।

कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय नेतृत्व चयन हुँदैछ। महाधिवेशनमा सभापतिसहित पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता हुने भएकाले आजको मनोनयन प्रक्रियालाई निर्वाचनको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।

सोमबार राति नै कांग्रेसको केन्द्रीय निर्चन समितिले मतदाता नामावली पहिलो पटक प्रकाशन गरेको हो। महाधिवेशनमा कुल ७ हजार ११४ जना कुल मतदाताको रहेको समितिले जनाएको छ।

नेपाली कांग्रेसको विधान २०१७ (एघारौँ संशोधन सहित) तथा निर्वाचन निर्देशिका, २०८३ बमोजिम काठमाडौँमा महाधिवेशन जारी छ। सोही महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने प्रयोजनका लागि मतदाताको सूची सार्वजनिक गरिएको हो।

प्रकासित नामावली नेपाली कांग्रेसको आधिकारिक वेबसाइट (www.nepalicongress.org) र आधिकारिक फेसबुक पेजमा हेर्न सकिने समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्