नेकपा एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसकेको प्रचण्डको खुलासा



काठमाडौं,१८ असोज । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र राष्ट्रिय जनमोर्चासँग सहकार्य गर्ने समझदारी भइसकेको बताएका छन् ।

नेकपा बागमती प्रदेश सम्पर्क समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले वामपन्थीहरू तथा देशभक्त शक्तिहरूसँग सहकार्यका लागि निरन्तर छलफल भइरहेको बताए । उनले एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसकेको जानकारी दिए ।

प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र प्राप्त अधिकारमाथि भइरहेको प्रहारको सामना गर्न सबैलाई एकजुट भएर अघि बढ्न अपिल गरे । उनले सरकारका गलत नीति तथा निर्णयविरुद्ध संसद्मार्फत खण्डन–आलोचना गर्ने काम भइरहेको भन्दै अब विस्तारै सडकमा गएर पनि सरकारलाई खबरदारी गर्नुपर्ने आवश्यकता महसुस भएको बताए ।

सडकमा गएर खबरदारी नगरे अहिले देखापरेको प्रतिक्रान्तिको हावालाई रोक्न नसकिने उनको भनाइ थियो ।

त्यस्तै, प्रचण्डले प्राविधिक तथा तयारी तीव्र नभएका कारण यसअघि तय गरिएको मंसिर ११ गतेको महाधिवेशन सम्भव नदेखिएको बताए । उनले यही साता बस्ने केन्द्रीय बैठकबाट नयाँ कार्यतालिका तय गरिने जानकारी दिए ।

उनका अनुसार दुई महिने अभियानअन्तर्गत टोल–गाउँसम्म पुगेर संगठन विस्तार तथा सदस्यता नवीकरण र विस्तारलगायत महाधिवेशन तयारीका काम सुरु भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्