कांग्रेस १५ औँ महाधिवेशनको उद्घाटन आज,कहाँ छ पार्किङको ब्यबस्था ?



काठमाडौ,१८ असोज । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आइतबारबाट शुरू हुँदै छ । काठमाडौंको खुलामञ्चमा दिउँसो २ बजे महाधिवेशनको उद्‌घाटन हुनेछ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले ऐतिहासिक स्थानमा हुन लागेको महाधिवेशन नेतृत्व भन्दा पनि नीतिप्रधान हुने जानकारी दिए । पार्टीको १५ औँ महाधिवेशनको शुरूआत यही असोज ३ र ४ गते वडा अधिवेशनबाट भएको थियो ।

यस्तै असोज ७ मा पालिका अधिवेशन तथा १० असोजदेखि प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भएको थियो ।

आइतबार उद्‌घाटन र सोमबारबाट बन्द सत्रका कार्यक्रम शुरू हुने कांग्रेसले जनाएको छ। १९ र २० गते बन्दसत्र सकेर २१ गतेबाट नेतृत्व चयनमा पार्टी अघि बढ्ने छ ।

प्रवक्ता चालिसेका अनुसार बन्दसत्र पनि खुलामञ्चमै हुने छ । जसका लागि तीन वटा हल तयार गरिएको छ । जहाँ सहभागीहरूले कांग्रेसको आगामी दिशा र राजनीतिक भविष्यको विषयमा चर्चा परिचर्चा गर्ने छन् ।पार्टी प्रवक्ता चालिसेका अनुसार महाधिवेशनमा ७ हजार ७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू चयन भएर आएका छन् । अधिवेशनमा उनीहरूको सहभागिता रहने छ ।

विशेष गरेर यस पटक फरक व्यवस्था अनुसार कांग्रेसमा ३५ वर्ष मुनिका हरेक क्षेत्रबाट प्रतिनिधि चयन भएर आएका छन् । यो संख्या करिब पाँच सय पुग्छ ।यसबाहेक ल्याटरल इन्ट्रीका नाममा पेशागत र विज्ञहरूलाई समेत कांग्रेसले महाधिवेशन प्रतिनिधि बनाएर लिएर आएको छ ।

यस्तै खुल्ला, महिला, दलित,आदिवासी, जनजाति, पिछडा वर्गलगायत क्लष्टरबाट विधान बमोजिम महाधिवेशन प्रतिनिधिहरू चयन भएर आएका छन् । ‘७७ सयको हाराहारीमा साथीहरू सहभागी हुनुहुनेछ,’ उनले भने- युवाका साथ लोकतन्त्र सेनानी, श्रमिक तथा पेशागत समूह र विदेशमा रहेका नेपाली समेत पहिलोपटक केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने अवसर पाउँदै छन् ।’

‘१५औँ महाधिवेशनमा तामझामसहित प्रचारप्रसार सामग्री शहरमा टाँसिँदैन, सकेसम्म प्रविधिको प्रयोग गर्न उम्मेदवारहरूलाई आग्रह गरिएको छ,’ उनले भने, ‘वातावरणमैत्री प्रचारप्रसार गर्ने नीति पार्टीले लिएको छ ।’कांग्रेसले महाधिवेशनमा डिजिटल बोर्डहरू राख्ने प्रवक्ता चालिसेले बताए ।

आजदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिको सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरले महाधिवेशनमा भाग लिन खुलामञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको जानकारी दिए ।

संयोजक स्वाँरका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान वे सडकको एकतर्फी, दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्थापन गरिएको हो ।

यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि केही सवारीसाधन पार्किङ गर्नेगरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उनको भनाइ छ । कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन यही असोज २२ गतेसम्म चल्ने छ । महाधिवेशनका लागि देशभर र जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधिले भाग लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्