७५ वर्षीय ससुराको हत्या आरोपमा बुहारी पक्राउ
जाजरकोट,१३ असोज । जाजरकोटमा ससुराको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन्। जिल्लाको जुनीचाँदे गाउँपालिका–५, पाँगाका ७५ वर्षीय गंगाराम शाहीको हत्यामा संलग्न रहेको आरोपमा उनकी माइली बुहारी शर्मिला शाहीलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार २०८२ साउन ११ गते बेलुका करिब ८ बजे गंगाराम आफ्नै घरको सिँढीनजिक घाँटीको बायाँ भागमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा मृत फेला परेका थिए। घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएको आशंका गरिएको हँसिया (खुर्पा) समेत बरामद गरेको थियो।
घटनाको अनुसन्धानका क्रममा मृतककी माइली बुहारी शर्मिलाको संलग्नता रहेको भन्दै मृतकका जेठा छोरा राजकुमार शाहीले असोज ७ गते प्रहरीमा किटानी जाहेरी दिएका थिए।जाहेरीका आधारमा पक्राउ अनुमति लिएर प्रहरीले शर्मिलालाई उनकै घरबाट पक्राउ गरेको हो। उनलाई असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराइएको थियो।
प्रहरीले सोही दिन जाजरकोट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ।जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधिरकुमार खड्काका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।




