देशका विभिन्न स्थानमा पाँच जना मृत फेला



काठमाडौँ,१३ असोज । तनहुँ, रूपन्देही, सिन्धुली, रोल्पा र ताप्लेजुङमा सोमबार पाँच जना मृत अवस्थामा फेला परेका छन्।

तनहुँको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीस्थित दुर्गा मन्दिरनजिक गुणादी खोलामा ऋसिङ गाउँपालिका–१ सेताङ बस्ने ५७ वर्षीय तुलबहादुर लुङ्गेली मगर मृत फेला परेका छन्।

त्यस्तै, रूपन्देहीको बुटवल उपमहानगरपालिका–३ चिडियाखोला सङ्घर्ष टोल बस्ने ३२ वर्षीय यमबहादुर पहराई बुटवल–१७ रानीगन्जस्थित तिनाउ खोलामा मृत अवस्थामा भेटिएका छन्।

सिन्धुलीको कमलामाई नगरपालिका–१२ तोरीश्वारा बस्ने ५९ वर्षीय मोहनबहादुर खड्का कमलामाई–७ थाक्लेफेदीस्थित सडकमा मृत फेला परेका छन्।

रोल्पाको सुनछहरी गाउँपालिका–२ गुवाखोलानजिकैको जङ्गलमा नाम, थर र वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।

यस्तै, ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ तारबोटे बस्ने ४३ वर्षीय राजकुमार चङ्सु सोही स्थानको गोरेटो बाटोमा मृत फेला परेका छन्।

उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्