कांग्रेस एकताका लागि मध्यमार्ग खोज्न नेता- कार्यकर्तालाई डा. शेखर कोइरालाको आव्हान
काठमाडौं,१ असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन रोक्दै सहमति, सहकार्य र एकताको मध्यमार्ग खोज्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

असोज १ गते कांग्रेसका नेता–कार्यकर्तालाई सम्बोधन गर्दै सार्वजनिक गरेको पत्रमा कोइरालाले मुलुक र कांग्रेस दुवै गम्भीर मोडमा पुगेको उल्लेख गर्दै अहिलेको परिस्थितिमा पार्टीलाई थप विभाजित हुनबाट जोगाउनु आवश्यक रहेको बताएका हुन्।
उनले कांग्रेसको आन्तरिक विभाजनले पार्टीको संगठनात्मक जीवनमा मात्र नभई राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा समेत असर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्। आसन्न दुई महाधिवेशनको प्रसंग उठाउँदै उनले त्यसबाट उत्पन्न परिस्थितिलाई सहमति र विवेकपूर्ण समझदारीमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
कांग्रेसको गौरवशाली इतिहास, संस्थापक नेताहरूको त्याग, संघर्ष र आदर्श स्मरण गर्दै कोइरालाले पार्टीले आफ्नो राजनीतिक संस्कार र मूल मूल्यबाट विचलित हुन नहुने बताएका छन्। बीपी कोइरालालगायत संस्थापक नेताहरूको राजनीतिक, नैतिक, सामाजिक तथा सांस्कृतिक जीवनदर्शन कांग्रेसका लागि मात्र नभई मुलुककै प्रेरणाको स्रोत भएको उनको भनाइ छ।
पार्टी विभाजनको अवस्थाले आफूलाई पीडा दिएको उल्लेख गर्दै उनले कांग्रेसलाई एकताबद्ध बनाएर राष्ट्र निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्। पार्टीभित्र एक पक्षको हार र अर्को पक्षको जितलाई कांग्रेसको विजयका रूपमा लिन नसकिने उनको धारणा छ।
कोइरालाले पछिल्लो समय कांग्रेसको राजनीतिक प्राथमिकतामा जनताको पीडा ओझेलमा परेकोप्रति पनि प्रश्न उठाएका छन्। रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको प्राकृतिक विपत्तिबाट ठूलो मानवीय तथा भौतिक क्षति भइरहेका बेला पीडित नागरिकप्रति पार्टी थप संवेदनशील र जिम्मेवार बन्नुपर्ने उनले बताएका छन्।
चाडपर्वको मुखमा परिवारका सदस्य तथा आफन्त गुमाएका नागरिकको पीडा, अभाव र विस्थापनप्रति राजनीतिक दलहरू गम्भीर हुनुपर्ने उल्लेख गर्दै उनले मानवीय संवेदनाभन्दा पार्टीका आन्तरिक विवाद र विधानका प्रावधानलाई प्राथमिकता दिनु उचित नहुने संकेत गरेका छन्।
विश्व राजनीतिमा भइरहेको परिवर्तनको प्रभाव नेपालमा समेत परिरहेको सन्दर्भमा कांग्रेसले आफ्नो ऐतिहासिक जिम्मेवारी सम्झिनुपर्ने उनको भनाइ छ। बीपी कोइरालाको योगदान र लोकतान्त्रिक आदर्शलाई स्मरण गर्दै अहिलेको अवस्थामा पार्टीभित्र एकता र राष्ट्रिय सहकार्यको आवश्यकता अझ बढेको उनले बताएका छन्।
मध्यमार्ग कठिन भए पनि पार्टी र लोकतन्त्रको हितमा त्यही बाटोबाट अघि बढ्नुपर्ने धारणा राख्दै कोइरालाले आफू पार्टी एकताको अभियानमा निरन्तर सक्रिय रहने बताएका छन्। उनले गाउँ–टोलदेखि केन्द्र र विदेशमा रहेका कांग्रेसका नेता–कार्यकर्तालाई पार्टीलाई एकताबद्ध राख्ने अभियानमा दृढतापूर्वक जुट्न आह्वान गरेका छन्।
कांग्रेस एकता र राष्ट्र निर्माणलाई अलग–अलग विषयका रूपमा हेर्न नसकिने उल्लेख गर्दै कोइरालाले यही सन्देश लिएर नेता–कार्यकर्तासँग निरन्तर संवाद र भेटघाट गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।


