वेश्यागमनको प्रचार-प्रसार गरेको आरोपमा युवक पक्राउ
काठमाडौं,२९ भदौ सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचार–प्रसार हुने प्रकृतिको भिडियो तथा पोस्ट गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचार–प्रसार हुने प्रकृतिको भिडियो पोस्ट गरेको सूचनाका आधारमा खोजतलास गर्ने क्रममा फिदिम नगरपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–२६, बसपार्क क्षेत्रमा बस्दै आएका २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन्।
प्रहरीका अनुसार काठमाडौंको नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा लामालाई हुलिया परिवर्तन गरी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
पक्राउ परेका लामामाथि वेश्यागमनको प्रचार–प्रसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता/सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।


