रसुवा बाढी : प्रभावितहरुको उद्दार तथा राहतका काम कसरी भइरहेका छन् ? यस्तो छ प्रधानमन्त्री शाहले दिएको जानकारी
काठमाडौं,१३ भदौ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा,नुवाकोट,धादिङलगायतका क्षेत्रमा उद्धार, राहत,उपचार तथा पुनःस्थापनाका काम तीव्र रूपमा भइरहेको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार प्रतिकूल मौसम र विकट भौगोलिक अवस्थाका बाबजुद साँझ साढे पाँच बजेसम्म हवाई तथा स्थलमार्गबाट ७ हजार ५१४ जनाको उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ। विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फसेका २७९ जनाको उद्धार भइसकेको र बाँकी प्रभावितको उद्धार प्रयास जारी रहेको उनले बताएका छन्।
उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरिएको र ती हेलिकप्टरले हालसम्म २३६ वटा उडान भरिसकेको प्रधानमन्त्री शाहले बताएका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १८ हजार ७०८ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
उद्धार कार्यमा भारतीय तथा चिनियाँ विज्ञसमेत नेपाली सेनासँगको समन्वयमा परिचालित रहेको शाहले जानकारी दिएका छन्। भौगोलिक कठिनाइ र प्रतिकूल मौसमका कारण एकैपटक धेरै हवाई उडान गर्न नसकिएको उल्लेख गर्दै उनले थप हेलिकप्टर तयारी अवस्थामा राखिएको बताएका छन्।
प्रधानमन्त्री शाहका अनुसार बाढीबाट उद्धार गरिएका जटिल घाइतेलाई काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। अन्य घाइतेका लागि रसुवाको धुन्चे र नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल सञ्चालन गरिएको छ। विशेषज्ञ चिकित्सकसहितका टोलीले धुन्चे, स्याफ्रुबेँसी, रसुवा अस्पताल तथा अन्य प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा दिइरहेका छन्। घाइते तथा उनीहरूका परिवारलाई मनोपरामर्श सेवासमेत प्रदान गरिएको छ।
प्रभावित नागरिकको व्यवस्थापनका लागि रसुवामा तीन र नुवाकोटमा १५ वटा शिविर स्थापना गरिएको शाहले बताएका छन्। बाढीबाट विस्थापित करिब ३ हजार ५०० नागरिकलाई विद्यालय तथा सार्वजनिक र सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ। राहत व्यवस्थापनमा नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा विभिन्न स्वयंसेवी संस्था परिचालित छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोषबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहमा अत्यावश्यक सेवा सञ्चालनका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको पनि प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
यसैगरी, प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत बाढीपीडितका लागि आर्थिक सहयोग संकलन भइरहेको छ। शाहका अनुसार आज मध्यान्हसम्म नौवटा वाणिज्य बैंकका खातामा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ। हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको उनले बताएका छन्।
प्रधानमन्त्री शाहले विपद्का नाममा हुन सक्ने आर्थिक ठगीबाट जोगिन सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड तथा ‘प्रधानमन्त्री दैवी प्रकोप कोष’ र ‘प्रधानमन्त्री कोष’का खातामा मात्र सहयोग गर्न आग्रह गरेका छन्।
बाढीबाट अवरुद्ध सडक तथा सञ्चार सेवा पुनःस्थापनालाई पनि सरकारले प्राथमिकतामा राखेको शाहले बताएका छन्। वैकल्पिक सडक सञ्चालनमा ल्याएर रसुवालाई पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको तथा गल्छी–मलेखु खण्डमा लेदो हटाएर पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइएको उनले जानकारी दिएका छन्। धादिङबेँसी जोड्ने वैकल्पिक सडकसमेत सञ्चालनमा आएको छ।
बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा बीटीएस टावरको सेवा अवरुद्ध भएकोमा हालसम्म नेपाल टेलिकमका ९० र एनसेलका ७१ वटा टावर सञ्चालनमा ल्याइएको शाहले बताएका छन्। बाँकी टावर पनि मर्मत गरी चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
विपद् प्रभावितको पुनःस्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगसमेत प्राप्त हुन थालेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। एशियाली विकास बैंकबाट ५० लाख अमेरिकी डलर अनुदान तथा १ लाख ५० हजार अमेरिकी डलर प्राविधिक सहयोग, विश्व बैंकबाट १६ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा, अमेरिकाबाट ५ लाख अमेरिकी डलर तथा अष्ट्रेलियाबाट १० लाख अमेरिकी डलर सहयोगको प्रतिबद्धता आएको उनले बताएका छन्।
भारतबाट तीन चरणमा ५७.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ। चीन र अमेरिकाबाट पनि मानवीय सहायता आउने क्रममा रहेको तथा चीनसँग ३० वटा बेलीब्रिज सहयोगका लागि अनुरोध गरिएको शाहले जानकारी दिएका छन्।
बाढी तथा पहिरोबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ६७५ वटा शव फेला परेको प्रधानमन्त्री शाहले बताएका छन्। रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा तथा नवलपरासी पूर्व र पश्चिमका विभिन्न स्थानमा फेला परेका शवलाई ‘एयरटाइट ब्याग’मा राखेर व्यवस्थापन भइरहेको छ।
पहिचान गर्न नसकिएका शवको डीएनएलगायत आवश्यक पहिचानका आधार सुरक्षित राखी सम्बन्धित निर्देशिकाबमोजिम व्यवस्थापन गरिने शाहले बताएका छन्। परिवारले पहिचान गरेका शव भने सम्बन्धित परिवारलाई बुझाउने क्रम जारी रहेको उनले स्पष्ट पारेका छन्।

