बाढीमा बगेको ‘सेफ’बाट पैसा चोरेको आरोपमा २९ जना पक्राउ



काठमाडौं,१३ भदौ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको ‘सेफ’ तोडफोड गरी पैसा चोरेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ । उनीहरूका साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बाढीले बगाई ल्याएको पैसा राख्ने सेफ धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदीको किनारमा स्थानीयले भेटेका थिए । स्थानीयले उक्त सेफ तोडफोड गरी त्यसभित्र रहेको नगद आफूखुसी निकाली चोरी गरेको भन्ने प्रहरीले सूचना पाएको थियो ।

त्यसपछि प्रारम्भिक अनुसन्धानका क्रममा २९ जनालाई नियन्त्रणमा लिई उनीहरूका साथबाट उक्त रकम बरामद गरिएको धादिङ प्रहरीका डीएसपी प्रकाश दाहालले जानकारी दिए ।

पक्राउ पर्नेमा गल्छी–४, मासटारका २७ वर्षीय पवन पौडेल, ४१ वर्षीय वीरबहादुर रानामगर, ३५ वर्षीय विनोद गिरी, ३३ वर्षीय नवराज भेटुवाल, ४० वर्षीय पूर्णलाल श्रेष्ठ, ३१ वर्षीय विष्णुमणि अधिकारीसहित २९ जना छन् ।“उक्त नगदको स्रोत तथा घटनामा संलग्न हुने सक्ने अन्य सम्भावित व्यक्तिहरूको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको साथै बरामद नगद र नियन्त्रणमा लिएका व्यक्तिहरूलाई थप अनुसन्धान कार्य भइरहेको,” प्रहरीले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्