सरकारको सम्पूर्ण ध्यान रसुवा बाढी प्रभावित नागरिकमा केन्द्रित : प्रधानमन्त्री शाह
काठमाडौं,१२ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा,भोटेकोशी–त्रिशूली करिडोरलगायत बाढी तथा विपद् प्रभावित क्षेत्रमा उद्धार,राहत र पुनःस्थापनाका लागि सरकारको सम्पूर्ण ध्यान प्रभावित नागरिकमा केन्द्रित रहेको बताएका छन्।

रक्षाबन्धनका अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले विपदबाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको र उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनका अनुसार खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका गरी १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरीका ४ हजार ४७३, नेपाली सेनाका ६ हजार ७५५ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना प्रभावित क्षेत्रमा खटिएका छन्।
हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। उद्धार गरिएकामध्ये जलविद्युत् सुरुङबाट १९१ जना तथा हवाई उद्धारमार्फत ५१७ जना रहेका छन्। नेपाली सेना तथा निजी क्षेत्रका १६ वटा हेलिकप्टरमार्फत धुन्चे, त्रिशूली, टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा निरन्तर हवाई उद्धार भइरहेको र हालसम्म ९९ वटा हवाई उडान भइसकेको जनाइएको छ।
उद्धारसँगै प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने कामसमेत तीव्र पारिएको छ। हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ भने हेलिकप्टरमार्फत थप ६ उडानबाट राहत सामग्री पुर्याइएको छ। प्रभावित क्षेत्रमा सञ्चारका लागि आवश्यक सेटसमेत पठाइएको सरकारले जनाएको छ।
सुरुङमा फसेका नागरिक तथा कामदारको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ। Upper Trishuli Hydropower Project, रसुवागढी जलविद्युत् केन्द्र तथा अन्य जोखिमयुक्त सुरुङमा खोज तथा उद्धार जारी रहेको र आवश्यक विशेष उद्धार उपकरण परिचालन गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।
बेपत्ता नागरिक तथा शवको खोजी कार्यलाई तल्लो तटीय क्षेत्रसम्म विस्तार गरिएको छ। रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्म त्रिशूली–नारायणी नदी करिडोरमा थप सुरक्षाकर्मी परिचालन गरी खोजी कार्य भइरहेको छ।
विदेशी नागरिकको खोज,उद्धार तथा पहिचानका लागि समेत विशेष समन्वय भइरहेको जनाइएको छ। हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार तथा पहिचान भएको र परराष्ट्र मन्त्रालयले सम्बन्धित दूतावास तथा परिवारसँग समन्वयका लागि Emergency Control Room सञ्चालन गरेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक रहेको स्पष्ट पार्दै प्रधानमन्त्री शाहले भारत,चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीबारे निरन्तर समन्वय भइरहेको बताएका छन्। हेलिकप्टर परिचालन गर्दा हवाई सुरक्षा, भौगोलिक पहुँच र वास्तविक आवश्यकतालाई आधार बनाइएको उनको भनाइ छ।
भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनःबाढीको जोखिमलाई निरन्तर निगरानीमा राखिएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना तथा सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गरिएको र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। सरकारले २ लाखभन्दा बढी SMS Alert मार्फत पूर्वसूचना दिएको जनाएको छ।
राहत तथा उद्धार कार्यको प्रत्यक्ष नेतृत्व र समन्वयलाई प्रभावकारी बनाउन गृहमन्त्री स्वयं प्रभावित जिल्लामा स्थलगत रूपमा उपस्थित भई सुरक्षा निकाय, स्थानीय प्रशासन, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।
यसैबीच, अवरुद्ध सडक सम्पर्क पुनःस्थापनाको काम पनि तीव्र पारिएको छ। वैकल्पिक सडकमार्ग सञ्चालनमा ल्याई साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन सुरु भएको छ भने काठमाडौं–मुग्लिङ सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको जनाइएको छ।
रसुवालाई पुनःसडक सञ्जालसँग जोड्न काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको वैकल्पिक सडक साना चारपाङ्ग्रे सवारीका लागि सुचारु गरिएको छ। क्षतिग्रस्त पुलमा बाइपास निर्माणको कामसमेत सुरु गरिएको छ। नियमित सडक सम्पर्क कायम गर्न भारत तथा चीनबाट ४८ मिटर लम्बाइका १० वटा Bailey Bridge उपलब्ध गराउन औपचारिक पहल गरिएको छ।
राहत, उद्धार तथा पुनःस्थापनामा सुरक्षा निकाय, स्वास्थ्य संस्था, नेपाल रेडक्रस, नेपाल स्काउट, स्वयंसेवी संस्था, निजी क्षेत्र तथा विकास साझेदारसँग समन्वय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोतसाधन एकीकृत रूपमा परिचालन भइरहेको जनाइएको छ।
प्रधानमन्त्री शाहले विपद्को कठिन घडीमा प्रभावित नागरिकको जीवनरक्षा र सुरक्षित भविष्यका लागि आफूले हृदयदेखि प्रार्थना गरिरहेको उल्लेख गर्दै मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र स्रोतसाधन त्यहीअनुसार परिचालन गर्ने गरी सरकार निरन्तर काम गरिरहेको बताएका छन्।
यसै सन्देशमार्फत प्रधानमन्त्री शाहले नेपाली MMA खेलाडी रवीन्द्र ढाँटले ‘Road to UFC’ मा जित हासिल गर्दै फाइनलमा प्रवेश गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरेका छन्। विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन योगदान पुर्याएको भन्दै उनले ढाँटप्रति नेपाल सरकारका तर्फबाट धन्यवादसमेत व्यक्त गरेका छन्।
प्रभावित क्षेत्रमा खानेपानी, इन्धन तथा सरसफाइको व्यवस्था पनि गरिएको सरकारले जनाएको छ। नुवाकोटमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका चारवटा वाटर ट्याङ्कर परिचालन गरिएको छ भने सुरक्षित खानेपानीका लागि ९०० केजी ब्लिचिङ पाउडर प्रभावित क्षेत्रमा पठाइएको छ। नुवाकोटका विभिन्न आयल स्टोरमा ४१ हजार लिटर डिजल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको तथा १७ हजार लिटर हवाई इन्धन नुवाकोट पठाइएको जनाइएको छ।
विपदबाट भएको क्षतिको विस्तृत मूल्यांकनसमेत सुरु गरिएको छ। सडक, पुल, विद्युत्, खानेपानी, दूरसञ्चार, जलविद्युत् तथा अन्य संरचनाको क्षति मूल्यांकनका लागि Sectoral Groups तथा १५ वटा प्राविधिक टोली परिचालन गरिएको छ।
स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय गरिएको छ। वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, धुलिखेल अस्पताललगायतबाट मेडिकल टोली परिचालन गरिएको र ६ वटा अस्पताललाई standby अवस्थामा राखिएको छ। आवश्यक औषधि तथा स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाइनुका साथै कम्तीमा ५ हजार जनसंख्यालाई लक्षित गरी टेन्ट तथा आपतकालीन स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको सरकारले जनाएको छ।
दूरसञ्चार सेवा पुनःस्थापनामा समेत उल्लेखनीय प्रगति भएको छ। प्रभावित १९८ टावर तथा साइटमध्ये १४५ वटा सञ्चालनमा आएका छन्। नेपाल टेलिकमका १२० मध्ये ८२ र एनसेलका ७८ मध्ये ६३ वटा साइट सञ्चालनमा आएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
त्यस्तै, नुवाकोटका करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा सुचारु भएको र धुन्चेमा विद्युत् सेवा सञ्चालनका लागि आवश्यक काम भइरहेको जनाइएको छ।
जोखिममा रहेका परिवारका लागि सुरक्षित बसोबास तथा आवतजावतको व्यवस्था अघि बढाइएको छ। Emergency Shelter का लागि स्थल पहिचान तथा Relocation को काम भइरहेको र सडक तथा पुल अवरुद्ध भएका बस्तीमा पहुँच सहज बनाउन रसुवा तथा नुवाकोटका करिब १० स्थानमा तुइन निर्माणको काम अघि बढाइएको छ।
राहत, उद्धार तथा पुनःस्थापनाका लागि आर्थिक स्रोतसमेत परिचालन भइरहेको सरकारले जनाएको छ। बाढी तथा विपदबाट प्रभावित १५ वटा स्थानीय तहलाई तत्काल राहत,उद्धार तथा आवश्यक व्यवस्थापनका लागि कुल ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको जनाइएको छ।
प्रभावित व्यक्ति, परिवार तथा व्यवसायका लागि राहत तथा पुनःस्थापना प्याकेज तयार भइरहेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थालाई लक्षित Business Recovery Package तयार गर्ने काम अघि बढाइएको छ। साथै, प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक उद्धार कोषमा जम्मा गर्ने व्यवस्था अघि बढाइएको प्रधानमन्त्री शाहले बताएका छन्।
राहत, उद्धार तथा पुनःस्थापनामा सुरक्षा निकाय, स्वास्थ्य संस्था, नेपाल रेडक्रस, नेपाल स्काउट, स्वयंसेवी संस्था, निजी क्षेत्र तथा विकास साझेदारसँग समन्वय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोतसाधन एकीकृत रूपमा परिचालन भइरहेको जनाइएको छ।
प्रधानमन्त्री शाहले विपद्को कठिन घडीमा प्रभावित नागरिकको जीवनरक्षा र सुरक्षित भविष्यका लागि आफूले हृदयदेखि प्रार्थना गरिरहेको उल्लेख गर्दै मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र स्रोतसाधन त्यहीअनुसार परिचालन गर्ने गरी सरकार निरन्तर काम गरिरहेको बताएका छन्।
यसै सन्देशमार्फत प्रधानमन्त्री शाहले नेपाली MMA खेलाडी रवीन्द्र ढाँटले ‘Road to UFC’ मा जित हासिल गर्दै फाइनलमा प्रवेश गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरेका छन्। विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन योगदान पुर्याएको भन्दै उनले ढाँटप्रति नेपाल सरकारका तर्फबाट धन्यवादसमेत व्यक्त गरेका छन्।

