नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न अमेरिका तयार : राष्ट्रपति ट्रम्प
काठमाडौं,१२ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएका छन्।

बिहीबार ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भोटेकोशी नदीमा आएको भीषण बाढीलाई अत्यन्तै भयावह भन्दै अमेरिकाले नेपालसँग सम्पर्क गरिसकेको र सहयोगको प्रस्ताव गरेको जानकारी दिए।
‘हामी सहयोग पठाउँदैछौं। अमेरिकी अधिकारीहरूले नेपालको नेतृत्वसँग कुराकानी गर्दै आवश्यक पर्ने सबै प्रकारको सहायता उपलब्ध गराउने छौं। उनीहरूलाई जे चाहिन्छ, हामी उपलब्ध गराउनेछौं,’ उनी भन्छन्।
बुधबार आएको बाढीले नेपाल र तिब्बतका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। नेपाल प्रहरीका बाढी तथा पहिरो प्रभावित विभिन्न जिल्लामा ४६९ जनाको शव फेला परेको छ।

