१८४ जना विदेशी पर्यटकको सकुशल उद्धार, ४२० जना पर्यटक अझै सम्पर्कविहीन
काठमाडौं,१३ भदौ । रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्ला भएर बहने भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित भएकामध्ये हालसम्म १८४ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ ।

नेपाल पर्यटन बोर्डले शनिबार दिउँसो १ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रबाट ३ जना पर्यटक सम्पर्कमा आएका र ४२० जना पर्यटक अझै सम्पर्कविहीन अवस्थामा रहेको जानकारी दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, पर्यटन प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए), सुरक्षा निकाय तथा स्थानीय प्रशासनको संयुक्त समन्वयमा हराइरहेकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ ।
उद्धार गरिएका र सम्पर्कमा आएका कुल १८७ जना पर्यटकमध्ये सबैभन्दा बढी भारतका ११४ जना नागरिक रहेका छन् । यस्तै चीनका २७ जना, दक्षिण कोरियाका २० जना, जर्मनी र माल्टाका ४/४ जना, इटाली र अमेरिकाका ३/३ जना तथा रुस, स्विट्जरल्याण्ड र टर्कीका २/२ जना पर्यटकको सकुशल उद्धार गरिएको छ । त्यसैगरी बुल्गेरिया, ओमान र पोर्चुगलका १/१ जनाको उद्धार भएको छ भने स्पेनका २ जना र बेल्जियमका १ जना पर्यटक हाल सुरक्षा निकायको सम्पर्कमा आएका छन् ।
विपद्मा परेका आफ्ना नागरिकहरूको अवस्था बुझ्न विदेशी कूटनीतिक नियोगहरूले पनि पर्यटन बोर्डसँग प्रत्यक्ष समन्वय थालेका छन् । नयाँ दिल्लीस्थित सिंगापुर उच्चायोगका प्रथम सचिव अब्राहम ट्यान र न्युजिल्याण्ड उच्चायोगका काउन्सिलर जेनी डु टोइटले बोर्डको कार्यालयमै पुगेर बेपत्ता नागरिकहरूको खोजीबारे छलफल गरेका छन् । पर्यटन बोर्डले विदेशी नागरिकहरूको खोजी, उद्धार तथा सुरक्षित स्थानान्तरणमा राज्य संयन्त्र पूर्ण रूपमा परिचालन भएको स्पष्ट पार्दै सम्पूर्ण सहयोग उपलब्ध गराउने आश्वासन दिएको छ ।

