नेचाबाट भोजपुर हुँदै भेडेटारसम्मको यात्रा अनुभुति
- सुजन चेल्सी शर्मा

दिउँसो करिब १ बजेतिर सोलुखुम्बुको चिसो हावालाई पछाडि छोड्दै हाम्रो यात्रा सुरु भयो। यात्रामा हामी दुई जना — दुई सुजन। गन्तव्य केवल एउटा ठाउँ पुग्नु मात्र थिएन, यात्राको हरेक मोडलाई अनुभव गर्नु थियो। बाटोले जहाँ लैजान्छ, त्यहीँको कथा मनमा राख्दै अगाडि बढ्नु थियो।

नेचा, फुर्के, कुमालटार हुँदै बाङ्गे खोलाको किनार छिचोल्दै हामी पोखरे र दियाले पार गर्दै रभुवा पुग्यौँ। साँझ नजिकिँदै थियो। बाटोभरि पहाडका उकाली–ओराली, खोलाको आवाज र गाउँघरको शान्त वातावरणले मनलाई बेग्लै आनन्द दिइरहेको थियो। रभुवामा पुगेपछि स्थानीय स्वादमा पकाइएको लोकल माछाको स्वादले यात्राको थकान केही क्षणमै हरायो।
रभुवाको हाइड्रोपावर बनेपछि प्रभावित क्षेत्र माझीगाउँ र लामीडाँडा हुँदै माथितिर उक्लँदै गर्दा पहाडको स्वरूप फेरिँदै गयो। कतै हरिया डाँडा, कतै टाढासम्म फैलिएका खेतबारी, कतै खोल्साका आवाज। आखिरमा हामी पुग्यौँ दिक्तेल।
दिक्तेलबाट निर्मलीडाँडा हुँदै चखेवातिर लाग्दा बाटोले असली परीक्षा लिन थाल्यो। माटोको हालत हिलाम्मे। कतै बाइक चिप्लिने, कतै पहिया धस्सिने। जसोतसो गर्दै साँझ पर्नै लाग्दा चखेवा पुगियो। त्यहाँ बस्ने निश्चित ठाउँ थिएन। एकछिन मौसमलाई हेरियो। आकाश खुलेको थियो। त्यसपछि फेरि निर्णय भयो — अगाडि बढ्ने।
धान रोप्न तयार पारिएका हरिया खेतहरू, गाउँघरको शान्त दृश्य र बाटोभरिका चिसा हावाबीच हामी पुग्यौँ खुकुरीको राजधानी भोजपुर। साँझ परिसकेको थियो। बजारको आफ्नै रौनक थियो। त्यो रात भोजपुरमै बित्यो।
बिहान भोजपुर बजार घुम्दै चिया पिउँदा त्यहाँको जीवनशैली निकै आत्मीय लाग्यो। पुराना घरहरू, बिहानै खुलेका पसल, चियाको बाफसँग मिसिएको चिसो मौसम — सबैले यात्रालाई अझ मिठास थपिरहेको थियो।
भोजपुरबाट यात्रा फेरि उकालोतिर मोडियो। डाँडामाथिको बाटो, चिसो मौसम र कहिलेकाहीँ लाग्ने हल्का जाडोले यात्रालाई अझ रोमाञ्चक बनायो। प्याउली बजार हुँदै हामी लेगुवा घाट पुग्यौँ। अरुण नदीको किनार नजिकको त्यो ठाउँमा पहाड र खोँचको दृश्य साँच्चै अद्भुत देखिन्थ्यो।
लेगुवाबाट हामी लाग्यौँ संखुवासभातिर। साँघुरा बाटा, एकातिर अग्ला भिर र अर्कोतिर गहिरा खोँच। यात्रा रोमाञ्चक मात्र होइन, कहिलेकाहीँ डर लाग्दो पनि हुँदै गइरहेको थियो। आखिरमा हामी पुग्यौँ तुम्लिङटार। पहाडबाट एक्कासी तराईजस्तो गर्मी महसुस भयो। त्यहाँ खाना खाएर फेरि उकालो बाटो समात्यौँ।
सल्लाका घना जंगल, घुमाउरा मोड र पहाडी बाटो पार गर्दै हामी खादबारी पुग्यौँ। त्यो बजार वास्तवमै विकसित र व्यवस्थित लाग्यो। आवश्यक सबै कुरा पाइने, व्यस्त अनि चलायमान बजार। केही बेर त्यहाँको चहलपहल हेरेर हामी सभापोखरीतिर लाग्यौँ।
अब बाटो कच्ची सुरु भयो। धुलो, हिलो र उबडखाबड सडक। जसोतसो गर्दै माल्टा खोला पुग्दा सभापोखरी गाउँपालिकाको क्षेत्र सुरु भयो। त्यहाँबाट करिब आधा घण्टाको यात्रापछि हामी आफ्नो अन्तिम गन्तव्यमा पुग्यौँ।
त्यहाँ पुग्दा थकान भए पनि मनमा बेग्लै शान्ति थियो। गाउँको पारिवारिक वातावरण, हरिया खेत, धान रोपाइँको तयारी, चिसो हावा र प्राकृतिक सुन्दरताले मन जित्यो। रातभरि गहिरो निद्रा पर्यो।
बिहान ढिलो उठियो। गाउँको बिहान नै बेग्लै लाग्यो। चराको आवाज, खेततिर जाने मानिसहरू, ताजा हावा। खाना खाएर वरिपरि हेर्दा लाग्थ्यो — शहरभन्दा धेरै जीवन यहाँ छ।
प्रकृतिको त्यो मायालाई मनभित्र बोकेर हामी फेरि खादबारीतिर फर्कियौँ। त्यहाँ साथी अर्जुन राईसँग भेट भयो। हिजो सम्पर्क भए पनि उहाँ फिल्डमा व्यस्त हुनुहुन्थ्यो। खादबारी बजारमा भएको आत्मीय आतिथ्यताले यात्रा अझ सम्झनालायक बनाइदियो। धन्यवाद अर्जुन राई।
अब प्रश्न थियो — फर्किने कुन बाटो?
आएकै बाटो फर्किने कि नयाँ बाटो समात्ने?
अन्ततः निर्णय भयो — नयाँ बाटो।
त्यसपछि हामी लाग्यौँ पाख्रीबास, हिले र मुलघाटतिर। हिलेको मौसम र वातावरण साँच्चै विशेष लाग्यो। मुलघाटमा उखुको चिसो मिठो जुस पिउँदा गर्मीले थकित शरीरलाई राहत मिल्यो।
अनि हामी पुग्यौँ भेडेटार।
भेडेटारको चिसो हावा, कुहिरो र बजारको रौनकले मन तान्यो। त्यहाँ धेरैबेर बसियो, खाजा खाइयो। साँझ पर्न थालेपछि हल्का पानीमा भिज्दै हामी धरान पुग्यौँ। धरान बजारको रात आफ्नै गतिमा बगिरहेको थियो। होटल खोजेर त्यो रात त्यहीँ बिताइयो।
बिहान सबेरै उठेर हामी लाग्यौँ पृथ्वीको पहिलो धाम मानिने बराहक्षेत्र दर्शन गर्न। कोशी किनारको त्यो धार्मिक वातावरणले मनलाई शान्त बनायो। त्यहाँबाट गाईघाट, कटारी हुँदै घुर्मी पुग्दा घुर्मी–कटारी सडकखण्डले फेरि यात्राको कठिन रूप देखायो। धुलो, खाल्डाखुल्डी र उबडखाबड बाटो पार गर्दै अन्ततः घुर्मीमा खाना खाइयो।
त्यसपछि सुरु भयो ओखलढुंगातिरको उकालो यात्रा। गर्मी धेरै भएकाले बेला–बेलामा रोकिँदै अघि बढ्नुपर्यो। रमाइलो डाँडामा पुगेपछि मौसम फेरियो। हल्का पानी, चिसो हावा र हुस्सुले बाटोलाई अझ सुन्दर बनाइदियो।
ढाप, पत्ताले, तिङ्ला हुँदै अन्ततः हामी सल्लेरी पुग्यौँ। सल्लेरीमा खाजा खाएर होटल खोजियो। दिनौँको थकान शरीरमा थियो। ओछ्यानमा पल्टिनासाथ निद्रा पर्यो।
पछि हिसाब गर्दा थाहा भयो — हामीले यो यात्रामा करिब ७०० किलोमिटर पार गरेका रहेछौँ।
तर त्यो केवल दूरी थिएन।
त्यो यात्रा थियो —
हिलाम्मे बाटोको,
पहाडको चिसो हावाको,
लोकल माछाको स्वादको,
भेडेटारको कुहिरोको,
सभापोखरीको शान्तिको,
धरानको व्यस्तताको,
र दुई साथीबीचको अविस्मरणीय सम्झनाको।
कहिलेकाहीँ गन्तव्यभन्दा बाटो सुन्दर हुँदो रहेछ।
यो यात्रा त्यसैको प्रमाण थियो।


