सरकारको सोमबारको कदमले ‘अपराधबोध’ भएको भन्दै कृषि मन्त्री अधिकारीले दिए पदबाट राजीनामा



काठमाडौं,२४ भदौ । ‘जेन जी’ पुस्ताले सोमबार बार गरेको आन्दोलन दबाउन सरकारले अलोकतान्त्रिक कदम चाकेको प्रति आपत्ति जनाउँदै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग कसरी युद्धजस्तो व्यवहार भएको उल्लेख गर्दै मन्त्री अधिकारीले सरकारको कदमले आफूलाई ‘अपराधबोध’ भएको र ‘नैतिकताको खिलाफ’ भएकाले पदबाट राजीनामा दिएका हुन्।

मन्त्री अधिकारीले विज्ञप्तिमा भनेका छन्, “हाम्रो छोराछोरी पुस्ताले मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण विरुद्ध हामीलाई खबरदारी गरेका हुन्। लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार हो। यसको सट्टामा भएको व्यापक दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भइरहेको हो कि भनी म झस्किएको छु।”

धादिङ २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अधिकारी गत असार ३१ गते कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका थिए। उनले आफ्नो दलको लोकतान्त्रिक इतिहासप्रति गर्व रहेको र अहिंसा लोकतन्त्रको प्राण हो भन्ने सिद्धान्तमा प्रतिबद्ध रहेको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्