अन्ततः सामाजिक सञ्जाल खुला गर्न बाध्य भयो सरकार
काठमाडौं, भदौ २४ । सरकारले सामाजिक सञ्जालहरूमाथि लगाइएको प्रतिबन्ध हटाउन बाध्य भएको छ ।

चौतर्फी बिरोध र दबाब पछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको गरेको हो।यो निर्णय भएलगत्तै सामाजिक सञ्जालहरू सञ्चालनमा आएका छन्।
सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कुनै पश्चाताप नगरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– ‘यही विषयलाई बहाना बनाएर आन्दोलन भएको कारण सामाजिक सञ्जालहरू खुलाउने निर्णय गरिएको हो ।’
मन्त्रिपरिषद् बैठकमा सामाजिक सञ्जाल एक्स (X) ले नेपालको राष्ट्रिय स्वाभिमानलाई कदर नगर्ने गरी जवाफ फर्काएको विषयमा बैठक भएकाे थियो । उहाका अनुनसार एक्सले नेपालमा दर्ता नै नगर्ने बताएको छ । ‘डेढ वर्षदेखि हामीले सूचीकृत गर्न भनिरहेका थियौं, नेपालको कानुन मान्न भनिरहेका थियौँ, हाम्रो राष्ट्रिय स्वाभिमानको कदर गर्नुपर्ने कुरा हो, तर त्यसमा हमला भयो, सामाजिक सञ्जालमाथि एउटा देशलाई यसरी हेप्न पाइन्छ ? राष्ट्रको अपमान गर्ने गरी उनीहरूलाई खोलिदिन सकिन्छ ?’
जेन–जी पुस्ताले आह्वान गरेको आन्दोलनका कारण सोमबार मात्रै काठमाडौंमा १७ र इटहरीमा २ जनाले ज्यान गुमाउनु परेको थियो । यसअघि गत भदौ १९ गते सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर सामाजिक सञ्जाल बन्द गराएको थियो ।

