दलाल र विचौलियाविरूद्ध संघर्ष गरेकै कारण सरकारबाट हट्नुपर्यो : प्रचण्ड
काठमाडौं,३ जेठ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलाल र विचौलियाविरूद्ध संघर्ष गरेकै कारण आफू नेतृत्वको सरकारलाई हटाइएको बताएका छन्।

माओवादी केन्द्रको जनतासँग माओवादी-मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियानका क्रममा शनिबार डोटीको दिपायलमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो दावी गरेका हुन।
यद्यपि माओवादी केन्द्रलाई तीन-तीन पटकसम्म सरकारमा पुर्याउने कांग्रेस र एमाले नभएको उनको भनाई थियो।’हामीलाई सिंहदरबारमा पुर्याउने,विस्तृत शान्ति सम्झौतामा पुर्याउने,हामीलाई तीन-तीन पटक सरकारको नेतृत्व गर्ने ठाउँमा पुर्याउने कांग्रेसहरू एमाले होइन। गरिब,मजदुर किसान र उत्पीडित वर्ग,समुदायले पुर्याएको हो,’ उनले भने।
तर यसबीचमा जति जनताको नजिक जानुपर्ने र उनीहरूको कुरा सन्नुपर्ने हो, त्यहाँ कमजोरी भएको अध्यक्ष प्रचण्डले बताए।’त्यो आत्मसमीक्षा गरेर फेरि तपाईंको साथमा तपाईंहरूका पीडा सुनेर त्यसलाई राष्ट्रव्यापी रूपमा स्थापित गर्ने उद्धेश्यका साथ आएका छौं,’ उनले भने।

