१० वर्षसम्म कैद र डेढ अर्ब असुल्न माग गर्दै जीबीसहित १९ जनाविरुद्ध मुद्दा दर्ता



काठमाडाैं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था,पाेखराकाे रकम हिनामिना गरेकाे आरोपमा जीबी राई र पक्राउ परेकासहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार जिल्ला अदालतमा सहकारी ठगीका १९ जना अभियुक्तविरूद्ध थप मुद्दा दायर गरेको हो ।

अपचलन प्रकरणमा कास्की प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिलमा प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा वकिल कार्यालयले बिहीबार जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको हो ।यस प्रकरणमा नाम जाेडिएका रास्वपा सभापित रवि लामिछाने र छविलाल जोशीविरुद्ध भने शुक्रबार मुद्दा दर्ता भएन । उनीहरू विरूद्ध आइतबार मात्र मुद्दा दर्ता हुने भएको छ ।

सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत पुर्पक्षका लागि थुनामा छन् भने जीबी राई फरार छ ।

शुक्रबार लगाइएको थप अभियोगमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार बिगो र सजाय माग गरिएको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिएकी छिन् ।उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध ऐन आकर्षित भएको सरकारी वकिलको कार्यालयले जनाएको छ। सहकारी ठगी अपराध गरेर कमाएको र उक्त अपराध गर्न संगठित रूपमा लागेकाले सम्पत्ति शुद्धीकरण र संगठित अपराध ऐन अनुसार थप मुद्दा लानुपरेको सरकारी वकिलको कार्यालयले जनाएको छ।

सरकारी वकिल कार्यालयले सबै जनाबाट एकमुष्ट १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैया बिगो दाबी गरिएको जिल्ला न्यायाधिवक्ता काफ्लेले बताइन्।

प्रतिक्रिया दिनुहोस्