खुम्बु क्षेत्रमा हेलिकप्टरको व्यबसायिक उडानना रोक लगाउने निर्णयप्रति नागरिक उड्डयन प्राधिकरणको आपत्ति
काठमाडौं।पुस १७ गतेदेखि सगरमाथा निकुञ्ज क्षेत्रमा व्यबसायिक उडानमा रोक लगाउने सगरमाथा राष्ट्रिय निकुञ्जले गरेको पत्राचारप्रति नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आपत्ति जनाएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्जले आउँदो पुस १७ गतेदेखि हेलिकप्टरको व्यावसायिक उडान/अवतरणमा रोक लगाउन परिपत्र गरेपछि क्यानले विज्ञप्ति निकालेर यो निर्णयमा आपत्ति जनाएको हो । साथै क्यानले हेलिकप्टरको उडानमा रोक लगाउने सम्बन्धमा कुनै निर्णय नहुञ्जेलसम्म त्यस क्षेत्रमा विद्यमान अवस्थामा जस्तै निर्बाध र नियमित रूपमा व्यावसायिक उडान सञ्चालन गर्न/गराउन पनि सम्पूर्ण हेलिकप्टर कम्पनीलगायत सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।
हवाई उड्डयनको नियमन तथा व्यवस्थापन गर्ने कानूनी जिम्मेवारी गैरसैनिक हवाई उडान ऐन तथा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन र त्यो कानूनअन्तर्गतका नियमावलीमा भएको व्यवस्थाबमोजिम आफूमा निहित रहेको क्यानले स्मरण गराएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन तथा हिमाली राष्ट्रिय निकुञ्ज नियमावलीलगायतका कानूनमा कुनै पनि आरक्षमाथिको हवाई क्षेत्र प्रतिबन्ध गर्ने अधिकार अरू निकायमा नरहेको हुँदा निकुञ्ज कार्यालयले गरेको पत्राचारको कुनै पनि कानूनी आधार र औचित्य नभएको क्यानको जिकिर छ ।
निकुञ्ज, खुम्बु पासाङ ल्हामु गाउँपालिका,मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाको बैठकले बुधबार यस क्षेत्रमा हेलिकप्टर उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै सो पत्राचार गरिएको थियो।
हेलिकप्टर कम्पनीले मनपरी ढंगले उडान–अवतरण गर्दा निकुञ्जको वन तथा वातावरण र वन्यजन्तुको सुरक्षामा समेत चुनौती थपिएको भन्दै सगरमाथा राष्ट्रिय निकुञ्जभित्र उडान तथा अवतरण गर्ने विभिन्न कम्पनीका हेलिकप्टरले उडान–अवतरण गर्नुअघि निकुञ्ज कार्यालयबाट अनुमति लिएर मात्र उडान गर्नुपर्ने निकुञ्जको पत्रमा उल्लेख थियो।

