गढीमाइ पञ्चवर्षीय मेलाको सुरक्षाका लागि झण्डै ५ सय सशस्त्र प्रहरी परिचालित
बारा। बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला सुरक्षाका लागि सशस्त्र प्रहरी बलले करिब ५ सय जना सशस्त्र प्रहरी परिचालन गरेको छ।
मंसिर १ गतेदेखि सुरु भएर ३० गतेसम्म संचालन हुने उक्त मेलालाई सुरक्षित एवं भयरहित वातावरणमा सम्पन्न गराउनका लागि नं.१२ गण बाराबाट सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंहको कमाण्डमा २४ घण्टा परिचालित हुने गरि टोली परिचालन गरिएको सशस्त्रले जनाएको छ।यसैगरी,मेला सुरक्षा योजना अनुसार सशस्त्र प्रहरी नायव उपरीक्षक रविन सिलवालको कमाण्डमा मेला अवधिभरको लागि मेलास्थलमा कमाण्ड पोष्ट स्थापना गरिएको छ ।
मेला सुरक्षार्थ २ वटा तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको छ । मेलामा भिड व्यवस्थापन र निगरानी गर्न ड्रोनको प्रयोग गरिएको छ भने मेला परिसरमा रहेको पोखरीमा कुनै पनि घटना दुर्घटना भएमा तत्कालै उद्धारको लागि विपद् व्यवस्थापन तालिम प्राप्त टोली रबर बोटसहित २४ सै घण्टा तैनाथ रहेको जनाईएको छ।
उक्त मेलामा ठुलो संख्यामा भक्तजनहरुको उपस्थिति हुने भएकोले मेला सुरक्षा योजनाअनुसारउच्च सर्तकता अपनाउँदै सुरक्षा व्यवस्था थप मजबुत बनाउन मेला अवधिभर परिचालित रहने सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।