लामिछानेलाई थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको अनुमति
पोखरा।सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरण आरोपमा समातिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई अनुमति दिएको छ ।
यसअघि ४ दिन थपिएको म्याद सकिएसँगै प्रहरी लामिछानेलाई बिहीबार अदालत पेश गरेको थियो । दुवै पक्षको बहस सुनेपछि न्यायाधीश चन्द्रकान्त पौडेलको एकल इजलासले लामिछानेलाई अझै ५ दिन हिरासतमै राख्न अनुमति दिएको हो ।
प्रहरीले अभियोगपत्र तयार गरिरहेको भन्दै लामिछानेलाई थप ९ दिन हिरासतमा राख्न अदालतसँग अनुमति मागेको थियो।कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ ।
यसबीचमा लामिछानेलाई रुपन्देही, काठमाडौं, चितवन र पर्सा जिल्लासमेत पुर्याइएको छ । ती जिल्लामा रहेका विभिन्न सहकारीको बचत रकम अपचलन आरोपमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ ।