सुनसरीबाट ६४ किलो गाँजा बरामद



इटहरी।सशस्त्र प्रहरीले सुनसरी जिल्लाको भोक्राहानरसिँह गाउँपालिका–८ सोनियाहीस्थित सीमा ईलाकाबाट करिब ६४ किलोग्राम गाँजा बरामद गरेको छ ।

नेपालबाट भारततर्फ लैजाँदै गरेको उल्लेखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी मातहत बोर्डर आउट पोष्ट उल्टीले सोमबार बरामद गरेको हो । गाँजा ल्याउने व्यक्तिहरु भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै गाँजा सोही ठाउँमा छाडी फरार भएका थिए ।

यस अघि सोही गण मातहत बिओपी साहेबगंजले  बर्जु गाउँपालिका–६ स्थित चिम्डी बजारबाट करिब ३५ किलोग्राम गाँजासहितको अटो नियन्त्रणमा लिएको थियो ।

यसैगरी,मंसिर २२ गते सोही जिल्लाको हरिनगर गाउँपालिका–७ स्थित सीमा ईलाकाबाट भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको करिब २ लाख ५९ हजार १ सय ४ रुपैयाँ बराबरको ३ हजार वटा ट्रमाडोल हाईड्रो क्लोराईट क्याप्सुल बोर्डर आउट पोष्ट घुस्की सुनसरीले बरामद गरेको थियो । सोही गाउँपालिका–५ सुकसेना स्थित भित्री सडकखण्डबाट मंसीर २० गते बोर्डर आउट पोष्ट बसन्तपुरले करीव ९४ हजार रुपैयाँ बराबरको १ हजार ९८ वटा ट्रमाडोल हाईड्रो क्लोराईट क्याप्सुल औषधी बरामद गरेको सशस्त्रले जनाएको छ ।

यसैगरी मंसिर १९ गते सोही जिल्लाको धरान उपमहानगरपालिका–८ सेउतीखोलास्थित कोशी लोकमार्गबाट विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको पनि सशस्त्र प्रहरीले जनाएको छ ।

सोही उपमहानगरपालिका–१३ अनामटोल बस्ने ४१ बर्षिय रोशन मगर र अमरपथ बस्ने ३७ बर्षिय प्रकाश राईलाई सुरक्षा वेश धरानको चेकप्वाईन्ट टोलीले नियन्त्रणमा लिएको हो ।को २५ प ८११ नम्बरको स्कुटरमा सवार उनीहरुलाई शंका लागि जाँच गर्दा ३४ वटा प्रोमेथाजिन, ३५ वटा बुप्रेनोर्फिन, ३५ वटा डाईजेपाम र ३५ वटा फेनिरामीनसहित नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएकाहरुलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको सशस्त्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्