प्राज्ञ भुवन थापाका मूर्ति फल
- बिजय खत्री
धेरै फुलेका थोरै फुल्नबाँकी लामो कपाल, आकारमा छोटा तर मल नपाए जस्ता केही सेता, केही खैर र छिटपुट काला दारिजुँगा, वषौंदेखि उस्तै देखिने लवाई, मनैदेखि निस्किने बेलगामकेा मीठेा हाँसो देख्दा लाग्छ उनी साधु/साधाक हुन ।
आजभन्दा करिब ३ वर्ष अघि मूर्तिकार, कवि, प्राज्ञ भुवन थापाको स्टुडियो, ललितपुरमा पुगेको थिएँ । स्टुडियो छिर्दै कुनै पुरानो कारखानामा छिरेको जस्तो महसुस भएको थियो । उनको साधकी जीवनशैली र मूर्ति प्रतिको उनको लगाव मेहनतले मलाई गहिरोसँग हेरिरहेका थिए । उनका पूर्ण, अपूर्ण र मूर्तिका कच्चापदार्थहरुले मूर्तिकारलाई सुरक्षाको पहरेदारी गरिरहेको जस्तो देखिन्थ्यो ।
एउटा स्टुडियो भित्रकेा चारकिल्लामा उनको बचपनदेखि त्यस दिनसम्म आईपुग्दासम्मका मूख्य–मूख्य कालखण्डका दस्तावेजहरुका चाङ देखिन्थे भने कला क्षेत्रको सुरुवाति दिनदेखि सो दिनसम्म उनले प्राप्त गरेका केही प्रतिनिधी सम्मान र कदर पत्रहरुले स्टुडियोका भित्ताबाट कलासिर्जना गर्न उर्जा दिइरहेको जस्तो लाग्थ्यो । खाने, बस्ने, काम गर्ने ठाउँ अस्तव्यस्त जस्तै देखिए तापनि उनले सिर्जना गरेका कलाहरुलाई चिसोमा सानो बच्चालाई आमाले मायाले सिरक ओडाएर न्यानो पारी कोक्रोमा सुताए जसरी काठ र सीसाका बाकसमा छुदाँ दाग लग्ला झैं गरि राखेका थिए ।
उनले ठूलो भवन, आरामदायी बिस्तारामा भन्दा आफ्नै कार्यस्थलमा मीठो निद्रा पर्ने र थाकेको शरिरले मूर्ति हेर्दै आराम गर्न खोज्छ भन्थे । साह्रै साधकी स्वभावका मूर्तिकार थापाले जीवनकालमा कमाएको सम्पत्ति नै तिनै मूर्त, अर्धमूर्त र अमूर्त मूर्तिहरु नै हुन् । कलाबाट गरेको आम्दानी कलामै समर्पित गरिहन्छन् ।
उनले फेर्ने हरेक स्वासमा मूर्तिकलाका पालुवा पलाई रहेको र उनी तिनको मलजल गरिरहेको झैं पाउँछु । मलाई लाग्छ, उनका आँखाले जताततै कला देख्छन्, छाम्दा जताततै लय भेट्छन्, बोल्दा कलाकै बारेमा बोल्छन्, लेख्दा कला कै बारेमा लेख्छन्, सुन्दा कला कै बारेमा सुन्छन् । उनी कलाभित्रै झागिँदै, फुल्दै, फल्दै र फैलिँदै छन् । सोही फलहरु मध्येका केही थान फलहरु हाल लाजिम्पाटको ताक्पा ग्यालरीमा‘अर्थ भित्रको अर्थ’ शीर्षक दिई एकल मूर्तिकला प्रदर्शनी भईरहेको छ ।
उनका मूर्तिमा सामान्य विषयवस्तुलाई टपक्क टिपेर कलात्मक तवरले समाजलाई झल्काएका छन् । उक्त प्रदर्शनी, कुनै पनि कुराहरुमा कलाकार कति गहिराईसम्म पुग्छ भन्नेको एक प्रमाण पनि हो । उनको कलाको मिठास कुनै साहित्यकार, लेखक, कवि वा पत्रकारका शब्दले त नपुग्लान तर उनका मूर्तिहरुले साहित्यकार, लेखक, कवि वा पत्रकारहरुलाई आमन्त्रण गरिरहेको जस्तो लाग्छ । उनका मूर्तिहरु अक्षरको खेती गर्नेहरुका लागि मलिलो माटो हो । उनले कहिँ मनलाई फलामको झ्यालखानामा बन्दक बनाएका छन्, कतै उन्मत्त सोडे मैदानमा उतारेका छन् त कतै दुःखहरुलाई झुण्डाएका छन् भने कहीँ अनिश्चित् जीवनमा निश्चित जिविका चलाई रहेका छन् ।
उनका मूर्तिहरु हेर्दा लाग्छ, आकारमा साना केही मूर्तिहरु ठूलो आकारमा सिर्जना गरि कुनै पार्कमा प्रतिष्थापित गर्न सकेमा यी मूर्तिहरुले त न्याय पाउने नै छन् साथै नेपाली मूर्तिकला स्थानीय स्तरदेखि राष्ट्रिय स्तर हुँदै अन्तराष्ट्रिय स्तरसम्म पुग्ने छन् । अन्तराष्ट्रिय स्तरका कलाकार वा पर्यटक भ्रमणका लागि आउँदा नेपाली मूर्तिकला देखानु पर्दा कुनै बन्द संग्रहालय देखाउनु पर्ने र परम्परागत मूर्ति मात्रै देखाउनु पर्ने अवस्थाको अन्त्यहुनेछ । राजधानीको नजिकै कुनै स्थानमा यस्तै समसामयिक खुला मूर्तिकला संग्राहलय स्थापन गर्न सकेमा विविध पक्ष(ललितकला,पर्यटकिय, आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक आदि) मा सकारात्मक प्रभाव पर्ने देखिन्छ ।
यस प्रदर्शनीमा प्रदर्शीत सुर्के थैलीमा मुटु बन्द गरिएको एक मूर्ति छ । जसलाई कुनै खुला स्थानमा ठूलो आकारमा प्रतिष्थापन गर्न सकेमा त्यसले धेरै अर्थ राख्थ्यो र उक्त मूर्ति देश विदेशसम्म सवार गर्थ्येा । आशा जीवितै छ, कुनै दिन हाम्रा चोक र पार्कहरुमा यस्तै मूर्तिहरुले सजिने छन् र ठूला मूर्तिको अगाडी बसेर मेरो देशको मूर्ति भनेर विदेशी साथीहरुलाई देखाउन पाउने छौं ।
मस्तिस्क, मर्म र कर्मको त्रिपक्षिय मिश्रणबाट सृजित मूर्तिहरुको प्रदर्शनी अवलोकन गरी भरपुर आनन्दपान गर्नुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु ।