नेपाल बाल संगठन ठगी प्रकरणका तीन आरोपी पक्राउ



काठमाडौं,२५ असार । नेपाल बाल संगठन (बाल मन्दिर) मा भएको आर्थिक अनियमितता तथा ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार नेपाल बाल संगठन तथा बाल मन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन–२०७७, प्रहरी प्रतिवेदन तथा नेपाल सरकार वादी रहेको ठगी सम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

अनुसन्धानका क्रममा बाल मन्दिरबाट अनियमित रूपमा रकम लिएर ठगी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि उनीहरूलाई २०८३ साल असार २४ गते विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।

पक्राउ पर्नेहरूमा नेपाल बाल संगठन, केन्द्रीय कार्यालय बाल मन्दिर, नक्सालकी तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख ५४ वर्षीया आशा श्रेष्ठ, नेपाल बाल संगठन जिल्ला कार्य समिति ललितपुरका तत्कालीन सभापति ६२ वर्षीय ओमकृष्ण कर्माचार्य, र नेपाल बाल संगठन जिल्ला कार्य समिति काठमाडौंका तत्कालीन सचिव ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार बाल मन्दिरको सम्पत्ति तथा आर्थिक कारोबारमा भएको अनियमितता सम्बन्धी अनुसन्धानलाई थप विस्तृत बनाइएको छ। यस प्रकरणमा अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको विषयमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

बाल मन्दिरको जग्गा तथा सम्पत्तिको दुरुपयोग, अनियमित भाडा सम्झौता र आर्थिक हिनामिनासम्बन्धी विषयमा यसअघि गठित उच्चस्तरीय जाँचबुझ आयोगले विस्तृत प्रतिवेदन पेश गरेको थियो। सोही प्रतिवेदनका आधारमा ठगी सम्बन्धी मुद्दाको अनुसन्धान अघि बढाइएको हो।

प्रतिक्रिया दिनुहोस्