‘समयको धुन: अधुरो सारङ्गी’ को प्रि-प्रडक्सन तीव्र, मौलिकता र कर्पोरेट आधुनिकताको फ्युजन हुने



काठमाडौँ,२० असार । नेपाली चलचित्र क्षेत्रमा एउटा फरक र उच्च स्तरीय वैचारिक धरातल बोकेको मौलिक चलचित्र ‘समयको धुन: अधुरो सारङ्गी’ को प्रि-प्रडक्सन कार्य तीव्र गतिमा अगाडि बढेको छ। प्याट टिम कलेक्सन प्राइभेट लिमिटेड को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको छायाङ्कन पश्चिम नेपालको बडीमालिका क्षेत्रमा हुने तय भइसकेको छ।

वैचारिक धरातल र संगीत चलचित्रको कथा र पटकथामा हाम्रो रैथाने इतिहास, माटो (Roots) र आधुनिक कर्पोरेट संसारबीचको वैचारिक द्वन्द्वलाई मुख्य विषयवस्तु बनाइएको छ। चलचित्रको कथा, पटकथा, गीत, संगीत तथा निर्देशन वेदप्रसाद भुर्तेल को रहनेछ। नेपाली रैथाने सारङ्गीको धुनलाई पश्चिमा भव्य अर्केस्ट्रा (Orchestra) संगीतसँग फ्युजन गराएर विश्व बजारलाई लक्षित गरी यसको गीत-संगीत तयार पारिएको छ।
कलाकार तथा प्राविधिक टिम चलचित्रको मुख्य नायकहरूमध्ये एक भूमिकाका लागि अमृत थापा को नाम औपचारिक रूपमा सार्वजनिक गरिएको छ। अन्य मुख्य नायक, नायिका र बाँकी मुख्य कलाकारहरू देशकै स्थापित तथा राष्ट्रिय स्तरका चल्तीका अनुहारहरू रहनेछन् र उनीहरूसँगको सम्झौता प्रक्रिया सकिएलत्तै नाम सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ। त्यसैगरी, चलचित्रमा समावेश हुने गीतहरूमा बजारमा स्थापित र चलेका राष्ट्रिय स्तरका गायक-गायिकाहरूको स्वर रहनेछ।

चलचित्रको मुख्य भूमिकामा आफ्नो क्षेत्रमा अगाडि बढिरहेका बाल कलाकारहरू परिधि दाहाल, आहाना साउद र विनय ढुङ्गाना अनुबन्धित भएका छन्। यो बृहत् प्रोजेक्टलाई संयुक्त रूपमा निर्माता अमृत थापा र संगीत क्षेत्रकै सक्रिय गायक तथा निर्माता टीकाराम कट्टेल (म्युजिक भिडियो गायक) ले निर्माण गर्दैछन्। चलचित्रको औपचारिक घोषणा र थप कास्ट विवरणका समाचारहरू चाँडै नै विशेष सञ्चारमाध्यम मार्फत बजारमा ल्याइने जानकारी निर्देशक भुर्तेलले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्