बागमती नदीमा भेटियो धोबीखोलामा हामफालेकी महिलाको शव, त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका युवाको अवस्था गम्भीर



काठमाडौं,२५ असार । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको शव फेला परेको छ । सशस्त्र प्रहरीको दङ्गा नियन्त्रण रेजिमेन्ट कीर्तिपुरबाट खटिएका टोलीले काठमाडौं महानगरपालिका १४ बल्खु कुमारी क्लब नजिकैको क्षेत्रस्थित बागमती नदीबाट सो शव निकालेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले हाम फालेकी भन्ने सूचनाको आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले बागमती नदीमा खोजी कार्य सुरु गरेको थियो ।अहिले शव भेटिए पनि पहिचान नखुलेको उनले बताए ।

उता,त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि आत्मदाहको प्रयास गरेका मुगु जिल्लाको सोरु गाउँपालिका–०१ घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपालीको अवस्था गम्भीर रहेको बताईएको छ। वीर अस्पतालको आईसीयुमा उपचाररत नेपालीले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास गरेका थिए ।

नगर प्रहरीले निषेधित क्षेत्रमा पार्किङ गरेको भन्दै मुगुका २५ वर्षीय पठाओ चालक गणेश नेपालीको मोटरसाइकलमा ‘ह्वील लक’ गरिदिएपछि पठाओ चालक उनले आत्मदाहको प्रयास गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्