नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलसहित १४ जनालाई बिशेष अदालतको सफाइ
काठमाडौं,२५ असार । विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोपबाट सफाइ पाउने फैसला गरेको छ ।

न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बिहीबार पौडेलसहित १४ प्रतिवादीलाई सफाइ दिने फैसला गरेको हो । नेपाल टेलिकमलाई बदनियतले हानीनोक्सानी पुर्याएको पुष्टि हुने आधार नदेखिएको भन्दै सफाइ पाउने फैसला भएको हो । उनीहरूविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ विगो कायम गर्दै अख्तियारले मुद्दा चलाएको थियो ।
पौडेलविरुद्ध सरकारी सेवामा रहेको अवधिमा २३ करोड ७५ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन, नेसनल पेमेन्ट गेटवेको प्रणाली खरिदमा भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणलगायत पाँचवटा मुद्दा लगाइएको छ । यीमध्ये सम्पत्ति हिनामिनामा सफाइ पाउने फैसला भएको हो ।

