बागमती प्रदेश सरकारबाट बाहिरियो कांग्रेस,जमकट्टेल नेतृत्वको सरकार अल्पमतमा



मकवानपुर । केन्द्रीय तहमा सत्ता समीकरण बदलिएको भोलिपल्ट बुधबार नेपाली कांग्रेस बागमती प्रदेश सरकारबाट अलग भएको छ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा बुझाएसंगै कांग्रेस बागमती प्रदेश सरकारबाट अलग भएको हो।सरकारमा सहभागी कांग्रेसका ६ जना मन्त्रीले बुधबार अपराह्न मुख्यमन्त्री जम्कट्टेललाई सामूहिक रूपमा राजीनामा पत्र बुझाएका हुन् । उनीहरूले मुख्यमन्त्री कार्यालय हेटौँडामा उपस्थित भएर राजीनामा दिएका हुन् ।

कांग्रेसबाट संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, स्वास्थ्य मन्त्री उत्तम जोशी, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा जमकट्टेल नेतृत्वको सरकारमा मन्त्री थिए।

संसदीय दलको उपनेता समेत रहेका रामकृष्ण चित्रकारले मन्त्रीहरूको राजीनामासँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको बताए । कांग्रेसले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

राजीनामा बुझाउने क्रममा खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा भने उपस्थिति भएनन् । सरकारबाट बाहिरिएसँगै कांग्रेसले बागमती प्रदेश सरकारको नेतृत्व गर्ने गरी समीकरण निर्माणमा अघि बढ्ने तयारी गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्