गण्डकी प्रदेशमा माओवादी मन्त्री बर्खास्त
पोखरा।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र)बाट सरकारमा सहभागी दुई मन्त्रीलाई बर्खास्त गरेका छन्।

मुख्यमन्त्री पाण्डेले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक विकास तथा स्वास्थमन्त्री सुशीला सिम्खडालाई बर्खास्त गरेका हुन।मुख्यमन्त्री पाण्डेले मंगलबार बिहान प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई दुई जना मन्त्री हटाएको पत्र पठाएका छन्।
मन्त्रिपरिषद् हेरफेर भएको पत्र आएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी प्रमिला गौतमले जानकारी दिइन्।दुवै जना माओवादीबाट मन्त्री बनेका थिए।केन्द्रमा बनेको समीकरण अनुसार नै प्रदेशमा पनि हटाउनुपरेको मुख्यमन्त्री पाण्डेले माओवादीका मन्त्रीलाई सुनाएका छन्।
माओवादी, नेकपा (एकीकृत समाजवादी) र राप्रपाको समर्थनमा नेपाली कांग्रेसका नेता पाण्डे मुख्यमन्त्री बनेका थिए। अहिले केन्द्रमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सत्ता साझेदारी गर्ने सहमति बनेको छ।

