काठमाडौ महानगरका सामुदायिक कुकुर र बिरालालाई बन्ध्याकरण गरिंदै
काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप दिने कार्यक्रम सुरु गर्ने भएको छ ।

महानगरबाट सञ्चालन भएको कार्यक्रम अन्तर्गत २७ भदौमा जारी भएको सार्वजनिक सूचनाबाट आएका संघसंस्थामध्ये ९ वटा संस्थाले कुकुर र बिरालोलाई बन्ध्याकरण गराउन लागेको हो ।कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाकाअनुसार ३ महिनामा ५ हजार ८ सय सामुदायिक कुकुर र बिरालाको बन्ध्याकरण गर्ने र १६ हजारलाई भ्याक्सिन दिने लक्ष्य रहेको छ।
डा.झा का अनुसार वडा ४ मा ‘पशुपन्छीप्रति निर्दयता रोकावट समाज, नेपाल’, वडा ७ मा ‘काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टर (क्याट सेन्टर)‘, वडा ९ मा ‘बत्तीसपुतली युवा, समाज’, वडा ११ मा ‘अक्सा नेपाल’, वडा १४ मा ‘एनिमल नेपाल’, वडा १५ मा ‘नेपाल जुनोसिस एण्ड फुड हाइजिन रिसर्च सेन्टर’, वडा २५ मा ‘स्नेहाज केयर’वडा ३१ मा ‘भेट फर योर पेट’ र वडा ३२ मा ‘मण्डला भेट हस्पिटल’ले काम गर्नेछन् ।
छानिएका संघसंस्थाले एउटा कुकुर वा बिरालोलाई बन्ध्याकरण गरेर खोप दिए बापत २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । खोप मात्र दिएको खण्डमा २ सय रुपैयाँ प्राप्त गर्ने उनले बताए।
पहिलो चरणमा वडा नम्बर ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ गरी ९ वटा वडामा कार्यक्रम चल्ने महानगरले जनाएको छ ।