असोज २९ गतेबाट नयाँ नोट साट्न पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैं-तिहारका लागि असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ ।

राष्ट्र बैंकको मुख्य कार्यालय, प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा दिइनेछ । यस वर्ष केन्द्रीय बैंकले क्युआर कोडमार्फत पनि नगद उपलब्ध गराउनेछ । सर्वसाधरणका लागि १८ हजार ५ सय रुपैयाँ सटही सुविधा दिइने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक कार्यकारी निर्देशक नरेश शाक्य भन्छन्, ‘यसपालि सर्वसाधारणले असोज २९, ३० तथा कात्तिक १, २ र ३ नयाँ नोट साट्न पाउनेछन् ।’२० वटै वाणिज्य बैंकबाट पनि यो सुविधा लिन सकिने शाक्यको भनाइ छ ।

दसैं-तिहारमा मात्र १५ अर्बभन्दा बढीको नोट सटही हुने गरेको छ भने ठूला चाडबाडमा बैंकको ढुकुटीबाट ६० देखि ७० अर्ब रुपैंयाँसम्म बाहिरिने गरेको छ ।

चाडबाडमा चाहिने चाँदीको सिक्का र नगद सिक्काको वितरण पनि सहज गराइएको राष्ट्र बैंकका अधिकारीहरुको दाबी छ । नगद कारोबारको सीमा घटाउँदै जाने रणनीति राष्ट्र बैंकले लिएको भए पनि हरेक वर्ष नयाँ नोट वितरण गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्