इजरायल आक्रमणमा किबुज अलुमिममा रहेका १२ नेपाली विद्यार्थी सम्पर्कविहिन:परराष्ट्रमन्त्री



काठमाडौं।परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलको आक्रमणमा परी १२ जना नेपाली विद्यार्थीहरु सम्पर्कविहीन भएका बताएका छन्। प्रतिनिधिसभाको आईतवारको बैठकमा बोल्दै मन्त्री साउदले दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा रहेर अध्ययनरत १२ जना नेपाली विद्यार्थीहरु सम्पर्कविहीन भएका बताएका हुन्।

सो स्थानमा १७ जना विद्यार्थीहरु रहेकामा २ जना सकुशल अवस्थामा रहेका, ३ जना घाईते भइ स्थानीय अस्पतालमा उपचार भइरहेको र १२ जना सम्पर्क विहीन भएकाले उनीहरुको अवस्थाको यकिन गर्न नसकिएको उनले जानकारी दिए।

उनीहरुको अवस्था यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको उनले बताए। मन्त्री साउदले आज नै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकायहरु सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको र सो संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरुको अवस्था पहिचान गर्ने, उद्दार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कार्यहरु गर्ने जानकारी दिए।

उनले इजरायलमा हाल ४ हजार ५०० नेपालीहरु केयर गिभरको रुपमा कार्यरत रहेका बताउनु भयो। त्यस्तै २६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारको लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत गएका मध्ये कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना रहेका उल्लेख गरे। सम्पर्कविहीन हुनेहरुमा सुदूरपश्चिम विश्वविद्यालयबाट गएकाहरु रहेको उनको भनाई छ।

यी मध्ये सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरु दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेको जानकारी साउदले दिए। नेपाली राजदुतावासबाट प्राप्त अपडेट अनुसार यो स्थान गाजा क्षेत्र नजिक रहेको र त्यहाँ हमास समूहबाट गम्भिर आक्रमण भएकोले उक्त स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीहरु मध्ये २ जना सकुशल रहेको, ३ जना घाइतको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको, केही हताहत भएको हुनसक्ने हुँदा स्थिति एकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्