झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झण्डै १८ करोड रुपैयाँ भ्रष्टाचार



काठमाडौँ।सर्लाहीको लालबन्दीस्थित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झण्डै १८ करोड रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

विशेष अदालतमा मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताएका छन्। उनका अनुसार प्रतिष्ठानको नाममा सरकारबाट १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ खर्च भइसक्दासमेत कामको प्रगति शून्य देखिएपछि अख्तियारले मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार र सर्लाहीको लालबन्दी नगरपालिकाका पूर्व मेयर मानबहादुर खड्कासहित ७ जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।

प्रतिष्ठानले विषालु सर्पको टोकाइमा प्रयोग हुने एन्टी स्नेक भेनम उत्पादन गर्ने उद्देश्यले लालबन्दी नगरपालिकासँगको सहकार्यमा एन्टी स्नेक भेनम उत्पादन तथा अनुसन्धान केन्द्र सञ्चालन गरेको छ। उनीहरुबाट १७ करोड ९८ लाख ३३ हजार असुल उपर गर्न र भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवानाको माग गर्दै मुद्दा दायर भएको हो।

विषालु सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका निमित्त भौतिक संरचना निर्माणका लागि भनेर स्थापना भएको केन्द्रमा तत्कालीन मन्त्री विजय कुमार र मेयर खड्काको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको ठहर छ।

यादव तत्कालीन मन्त्री भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ अनुसार थप कैद सजायसमेत मागदाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्