इजरायल-प्यालेस्टाइनी लडाकू समूह हमास युद्ध : हालसम्म ४८० जनाको को मृत्यु, १३ नेपाली घाइते



एजेन्सी।इजरायलमा हमासले गरेको आक्रमण र त्यसपछि इजरायलको प्रतिक्रियापछि स्थिति निकै तनावपूर्ण बनेको छ। प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो।

पछिल्लो चौबीस घण्टामा घटनाक्रमहरू तीव्र रूपमा परिवर्तन भएका छन्।

इजरायलमा हमासले गरेको आक्रमणमा २५० जनाको मृत्यु भएको छ भने इजरायलको प्रतिकारात्मक कारबाहीमा २३० जनाको मृत्यु भएको बताइएको छ।

हमासको आक्रमणको विश्वव्यापी आलोचना भएको छ भने इरानले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भनेको छ।

इजरायली सेनाले गाजाका विभिन्न सात क्षेत्रका सर्वसाधारणलाई आ-आफ्नो ठाउँमा शरण लिन आग्रह गरेको छ। इजरायलले गाजापट्टीमा हमासको स्थानमा आक्रमण गर्ने उद्देश्यले यस्ताे आग्रह गरेकाे हाे।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमणलाई कालो दिनको संज्ञा दिँदै दुश्मनले यसको ठूलाे मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

हमासका प्रवक्ताले बिबिसीलाई इजरायलमाथिको यो अचानक आक्रमणमा इरानको समर्थन रहेको बताएका छन्।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले वेस्ट बैंकमा ‘शान्ति र स्थायित्व’ कायम गर्न अपील गरेका छन्। उनले प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग पनि कुराकानी गरेका छन्। साउदी अरेबियाले प्यालेस्टाइन र इजरायलबीचको द्वन्द्व तत्काल बन्द गर्न अपिल गरेको छ।

इजरायली रक्षा बल (आइडिएफ) ले आफ्ना सैनिकहरू इजरायलका २२ ठाउँमा अतिवादीहरूसँग लडिरहेको बताएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग फोनमा कुराकानी गरेका छन्। कुराकानीका क्रममा अमेरिकी राष्ट्रपतिले इजरायलको साथमा उभिने र पूर्ण समर्थन गर्ने कुरा गरेका थिए।

इजरायलमा हमासले आक्रमण गरेपछि पश्चिमा राष्ट्रका साथै मध्यपूर्वका देशबाट पनि प्रतिक्रिया आएको छ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायल र प्यालेस्टाइन दुवै पक्षलाई सावधानी अपनाउन आग्रह गरेका छन्।

नेपाल सरकारले इजरायलमा भएको आतंकवादी हमलाको निन्दा गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता प्रकट गरेको छ। सरकारले हमलामा अमूल्य जीवन गुमेकामा तथा धेरै मानिस घाइते भएकामा दुःख पनि व्यक्त गरेको छ।

आतंकवादी आक्रमणमा नेपाली पनि परेका छन्। आक्रमणमा परी घाइते भएका १३ जना नेपालीमध्ये दुई जनाको अवस्था गम्भीर छ।

प्रतिक्रिया दिनुहोस्