आज बिश्वासको मत लिंदै मुख्यमन्त्री कार्की,कस्तो छ अवस्था ?
काठमाडौं।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री कार्कीले बिश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाईएको छ।
९३ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४० सदस्य छन्।बिश्वासको मत प्राप्त गर्न ४७ मत आवश्यक पर्छ।यसअघि एमालेलाई सहयोग गर्दै आएको राप्रपाले यसपटक के गर्ने भन्ने निर्णय गरिसकेको छैन।कोशी प्रदेश राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले सरकारले बिश्वासको मत प्राप्त गर्ने निश्चित भएको अवस्थामा मात्रै आफ्नो पार्टीले सहयोग गर्न सक्ने बताउंदै आएका छन्।
कार्की नेतृत्वको सरकारले बिश्वासको मत प्राप्त गर्नका लागि गठबन्धनमा आबद्ध कुनै एक दलले सहयोग गर्नुपर्ने हुन्छ।यो समाचार तयार पार्दासम्म त्यस्तो कुनै सम्भावना देखिएको छैन।गठबन्धनमा आवद्ध दलहरू नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,एकीकृत समाजबादी र जसपासंग ४७ मत छ।तर बैठकको अध्यक्षता गर्नुपरेको खण्डमा उनीहरूको पनि ४६ भन्दा बढी मत पुग्दैन।राप्रपाले आफुसंग भएको ६ मत पनि सहयोग नगरेको खण्डमा मुख्यमन्त्री कार्कीले मात्रै ४० मतमा चित्त बुझाउनुपर्ने हुनसक्छ।
यसअघि पनि मुख्यमन्त्री भएका कार्कीको सरकारमा रहेका नेकपा माओवादी केन्द्र बाहिरिए पछि उनले विश्वासको मत पाउन सकेका थिएनन, जसका कारण उनी बाहिरिनु परेको थियो ।
त्यसपछि सभामुखको मत र सभाध्यक्षको मतसहित नेपाली कांग्रेसका उद्दव थापाले दुई-दुई पटक लिएको मुख्यमन्त्रीकाे नियुक्ती सर्वोच्च अदालतले बदर गरेर कार्कीलाई मुख्यमन्त्री नियुक्ती गर्न परमादेश दिएको थियो ।
संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठुलो दलको हैसियतले नेकपा एमाले संसदीय दलको नेता कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो ।