बझाङ भुकम्प : पूर्ण क्षति भएका घरलाई ५० र अन्यलाई १५ देखि २० हजार तत्काल उपलब्ध गराईने
काठमाडौं।सरकारले भूकम्पबाट घर पूर्ण रुपमा क्षति भएका भूकम्प पीडितलाई तत्काल राहत स्वरुप ५० हजार रुपैयाँ राहत दिने भएको छ ।
भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि उक्त रकम घोषणा गरेका हुन् ।यस्तै भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च दिने उनले बताए।
प्रधानमन्त्री प्रचण्डले भूकम्पका कारण घाइते भएकाहरुको नि:शुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिए। साथै, भूकम्पका कारण पहिरो जाँदा ज्यान गुमाएका परिवारलाई २ लाख रुपैयाँ प्रदान गरिने पनि प्रधानमन्त्रीले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डले बझाङ भूकम्पका कारण भत्किएका, चिरा परेका र आंशिक क्षति भएका घर तथा संरचनाको दीर्धकालीन पुनर्निर्माण र पुनर्स्थापना गरिने बताए। त्यसका लागि स्थानीय तह, जिल्ला र प्रदेशबाट प्राप्त क्षति मूल्याङ्कनका आधारमा कार्यविधि बनाइ यसअघि (२०७२ सालको) भूकम्पले क्षतिग्रस्त बनेका संरचनाको पुनर्निर्माण गरिए जस्तै स्थानीय सामग्रीहरुको प्रयोग गरी सुरक्षित पुनर्निर्माणको काम अगाडि बढाइने प्रधानमन्त्रीको भनाइ छ।