गम्भीर फौजदारी मुद्दामा आममाफी दिईएकोमा गगन थापाको आपत्ति



काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले कर्तव्य ज्यानमा जेल सजाय भोगिरहेका रिगल ‘डन’लगायत व्यक्तिलाई कुन आधारमा आममाफी दिइएको सरकारले जानकारी गराउनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले संविधान दिवसका अवसरमा गम्भीर फौजदारी मुद्दामा जेल सजाय भोगिरहेकाहरूले कसरी आममाफी पाउन मिल्छ ? भन्दै प्रश्न गरे । गलत निर्णय गर्ने सरकारले सार्वभौम संसद्मा उभिएर जवाफ दिनुपर्ने भन्दै उनले सभामुखले सोहीअनुसार रुलिङ गर्न माग गरे ।“यो गलत निर्णय भएको छ । सरकारले यहाँ उभिएर कारण बताउनुपर्छ । यसको जवाफ दिनुपर्छ । निर्णय आफू गरेर भाग्न पाइँदैन, जवाफ दिनुपर्छ,” थापाले भने ।

सरकारमा जो रहे पनि संविधानको छिद्र चिर्दै गम्भीर अपराधका दोषीलाई कैद माफी दिन नहुनेमा उनले जोड दिए । कानुनविपरीत काम गरेर मन्त्रिपरिषद्ले राष्ट्रपति संस्थालाई विवादमा तानेको थापाको आरोप छ ।“६७० जनालाई माफीमिना गरिएको छ । संविधानको मर्मविपरीत गम्भीर अपराधको दोषीलाई कैद माफी गरिएको छ । बदनियत ढंगबाट भएको निर्णय गलत छ । यसको विरोध स्वाभाविक छ । विरोध हुन्छ, हामी गछौँ,” उनले भने । file foto

प्रतिक्रिया दिनुहोस्