विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश,संसदीय प्रक्रियाबाट पारित मन्त्री राईको आग्रह



काठमाडौं।सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गरेको छ ।

यसअघि मन्त्रिपरिषद्ले पारित गरी संघीय संसदमा दर्तामात्र भएको उक्त विधेयक प्रतिनिधि सभाको आइतबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले सो विधेयक प्रतिनिधि सभामा पेश गरेका हुन् ।

मन्त्री राईले विधेयक दर्ता भइसकेपछि सरोकारवालाले गरेका आन्दोलन र भएका सहमतिलाई संशोधनको प्रक्रियाबाट सम्बोधन गराउन आवश्यक रहेको बताए।

उनले संविधानको प्रबन्धअनुसार शिक्षाको मौलिक हकको कार्यान्वयन, तीन तहका सरकारबीचको शिक्षा सञ्चालनको कार्यक्षेत्र र व्यवस्थापनका लागि विधेयक ल्याइएको उनको भनाई थियो।मन्त्री राईले विसं २०७५ मा मस्यौदा भई मन्त्रिपरिषद्मा पुगेर फिर्ता भई पुनः मन्त्रिपरिषद् हुँदै संसद्मा आइपुगेकाले सहमतिका आधारमा संसदीय प्रक्रियाबाट यसलाई पारित गर्न आग्रह गरे।

यसअघि विधेयक प्रस्तुत नगर्न नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दिएको विरोधको सूचना बहुमतले अस्वीकृत भएको थियो। सांसद् सुवालले विधेयक दर्ता भएसँगै शिक्षकको आन्दोलन भएको, निजी विद्यालयले आफूखुसी शुल्क लिने प्रवृत्ति रोक्न नसकिएको र जिल्ला शिक्षा कार्यालयलाई पुनःस्थापना गर्न लागिएकोमा असन्तुष्टि व्यक्त गरेका थिए।

विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको थियो।

प्रतिक्रिया दिनुहोस्