चीन भ्रमणका क्रममा प्रचण्डले राष्ट्रियताको सवाल उठाउन सकेनन् : जनमोर्चा



काठमाडौं।चीन भ्रमणका क्रममा आफ्नो मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विषय उठाउन नसकेको भन्दै राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गम्भीर आलोचना गरेको छ।

नेपाल चीन संयुक्त वक्तव्यमा कालापानी सम्बन्धी विषय नपरेको
र दाहालको भ्रमणअघि चीनले जारी गरेको आफ्नो नक्सामा नेपालको लिम्पियाधुरा सहितको चुच्चे नक्साबारे कुरा उठाउन नसकेको भन्दै शुक्रबार एक बिज्ञप्ति जारी गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री दाहालको आलोचना गरेका हुन।

‘प्रधानमन्त्रीले चीन भ्रमणको अवसरमा चीनका प्रधानमन्त्री वा राष्ट्रपतिसँग नेपालको कालापानी सहितको भूभाग भारतीय नक्सामा सामेल गरी चीनले यही भाद्र महिनामा जारी गरेको नक्साको विषयमा कुनै कुराकानी गरेको वा त्यो सम्बन्धी विषय उठाएको पाइएन’ जनमोर्चा अध्यक्ष केसीद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसका साथै नेपाल चीन संयुक्त वक्तव्यमा कालापानी सम्बन्धी विषय नपरेकोमा प्रचण्ड सरकारले आफ्नो मुलुकको राष्ट्रियता र सार्वभौमसत्ता र अखण्डताको विषय चीन समक्ष उठाउन नसकेकोमा हाम्रो पार्टी प्रधानमन्त्रीको गम्भीर आलोचना गर्दछ।’

त्यसअघि सन् २०१५ मा  नेपाललाई नसोधी नेपाली भूमि लिपुलेक प्रयोगबारे भारत र चीन बीच  सहमति भएको थियो। यो विषयलाई पनि प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा उठाउन आवश्यक ठानेनन्। केसीले भनेका छन्, ‘सन् २०१५ मा नेपाल भारतले जारी गरेको बुँदा नं २८ का विषयमा छलफल नहुनुलाई हाम्रो पार्टीले गलत मान्दछ तथा प्रधानमन्त्री दाहालले चीन भ्रमणका बेला यो विषयमा कुरा नउठाएकोमा उहाँको गम्भीर आलोचना गर्दछ।’

प्रतिक्रिया दिनुहोस्