यसरी गर्दैछ कामनपाले स्वास्थ्य क्षेत्रको अनुगमन
काठमाडौ।काठमाडौ महानगरपालिकाले स्वास्थ्य क्षेत्रको अनुगमन गर्न १६ वटा सूचक निर्धारण गरेको छ । अनुगमनमा जाँदा सेवामा असर नपुगोस्, अनुगमन टोलीले प्राप्त गर्नुपर्ने सूचना तथा विवरण सरल, सहज र विनाअवरोध प्राप्त गर्न सकियोस् तथा मापदण्ड र सेवाको गुणस्तर मापन गर्न सकियोस् भन्ने उद्देश्यले सूचक निर्धारण गरिएको उपमेयर सुनिता डङ्गोलले बताउनुभयो ।

त्यसैगरी तत्काल सुधार गर्दा हुने त्रुटिलाई सुधारको मौका दिने, सुधारको अवसर दिन नमिल्ने कामलाई तत्काल कानुनी कारबाही गर्ने, स्वास्थ्य क्षेत्रका सेवाग्राहीले सुधारको महसुस तत्काल गर्ने, राम्रो गर्नेलाई प्रोत्साहित गर्ने, गलत गर्नेलाई कानुनी कारबाहीमा ल्याउने जस्ता सूचक तयार गरिएको उपप्रमुख डङ्गोलले बताउनुभयो ।
अनुगमन समितिको संयोजक रहनुभएका उपप्रमुख डङ्गोलका अनुसार स्वास्थ्य क्षेत्रमा नागरिकको धेरै गुनासा रहेकाले सूचक नै तयार गरी अनुगमन गर्न लागिएको हो । काठमाण्डौ महाअनगरपालिकाको स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रका सम्भावित समस्या व्यवस्थापन गर्न यसअघि जारी गरिएका ऐन, नियमावली, विनियमावली, कार्यविधि र मापदण्डका आधारमा अनुगमन गर्ने बताउनुभयो ।
विभागले आधुनिक, प्राकृतिक, आयुर्वेद, होमियोप्याथिक चिकित्सासम्बन्धी स्वास्थ्य क्लिनिक, पोलिक्लिनिक र अस्पतालहरूबाट प्रदान गरिने सेवा, सेवाको गुणस्तर, सेवा सञ्चालन गर्ने पूर्वाधार जस्ता क्षेत्रको अनुगमन गर्नेछ । पाँचदेखि २५ शय्यासम्मका स्वास्थ्य सेवा प्रदायक अस्पताल महानगरको अनुगमन क्षेत्रभित्र पर्छन् ।
अहिले महानगरको क्षेत्राधिकारभित्र दुई हजार छ सय औषधि पसल सञ्चालन छन् । सञ्चालित धेरै औषधि पसल कानुनविपरीत रहेको भन्दै प्रमुख पौडेलले सबै पसलको अनुगमन गरी गैरकानुनीरूपमा सञ्चालनमा रहेका औषधि पसललाई कानुनी दायरामा ल्याइने बताउनुभयो।

