अनेरास्ववियुविरुद्ध उपत्यकामा सत्तारुढ विद्यार्थीको गठबन्धन,आरआरमा खुकुरी प्रहार
काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा रत्नराज्यलक्ष्मी क्याम्पस प्रर्दशनीमार्गमा खुकुरी प्रहार भएको छ।

उम्मेदवारी दर्ता गर्ने क्रममा विद्यार्थी समूहबीच विवाद बढेपछि शनिबार सत्तारुढ दल निकट विद्यार्थी संगठनहरुले एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।
खुकुरी प्रहारबाट राज न्यौपाने, अनिल बोहरा र विवेक गैरे घाइते भएका छन्। चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा लागि सत्ता गठबन्धननिकट तीन विद्यार्थी संगठनहरुबीच तालमेल गरेका छन्। नेपाली कांग्रेसनिकट नेविसंघ, माओवादीनिकट अखिल क्रान्तिकारी र नेकपा एसनिकट अनेरास्ववियूबीच क्याम्पसहरुको भागबण्डामा आरआर क्याम्पस एस निकट विद्यार्थी संगठनको भागमा परेको छ।
तीन संगठनबीच भएको भागबन्डा अनुसार अनुसार नेविसंघले १५ क्याम्पस, अखिल क्रान्तिकारीले १० क्याम्पस र नेकपा एसनिकट अनेरास्ववियूले ३ क्याम्पसमा स्ववियु सभापति लिनेगरी तालमेल भएको छ ।
नेविसंघले सभापतिमा त्रिचन्द्र, पद्दमकन्या, शंकरदेव, मिनभवन, पशुपति, पाटन, आई ओ एम महाराजगंज, टिचिङ् नर्सिङ्, आयुर्वेद क्याम्पस, जन प्रशासन, सरस्वती, ग्रमिण आदर्श, कोटेश्वर,भक्तपुर बहुमुखी, केआईसी कालिमाटी र शिक्षा क्याम्पस थलीको सभापति पाएको छ ।
त्यस्तै अनेरास्ववियु क्रान्तिकारीले थापाथली, सानोठीमी, पुल्चोक, नेपाल ल, पब्लिक युथ, विश्वभाषा, एनआर कलेज ,नेशनल इन्जिनियरिङ, हिमालयन इन्जिनियरिङ क्याम्पसको सभापति पाएको छ ।त्यस्तै नेकपा एसनिकट अनेरास्ववियूले आर आर , महेन्द्र रत्न ताहाचल र बानेश्वर क्याम्पसको स्ववियु सभापति पाउने गरी सहमति गरिएको छ ।
तीनै संगठनका अध्यक्ष दुजाङ शेर्पा, पन्चा सिंह र सुदेश पराजुलीले सहमतिमा हस्ताक्षर गरिसकेका छन् ।

