उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन सत्तागठबन्धनलाई सकस
काठमाडौं।सत्तारुढ गठबन्धनमा उपराष्ट्रपति कस्लाई बनाउने भन्ने बिषयमा विवाद देखिएको छ।यसअघि ८ दलीय गठबन्धनमा जसपालाई उपराष्ट्रपति बनाउने सहमति भएको भनिए पनि अहिले दावी गर्ने दलहरूको संख्या थपिएको छ।

आठदलीय गठबन्धनको तर्फबाट जसपाले रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने तयारी गरेपनि नागरिक उन्मुक्ति र जनमतले पनि उपराष्ट्रपतिमा दाबी गरेपछि शुक्रबार बसेको नौ दलीय गठबन्धनको कार्यदलको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
भोलि शनिबार उम्मेदवार मनोनयन गर्नुपर्ने चुनावी तालिका रहेकाले आजै वा भोलि बिहान पुनः कार्यदलको बैठक बस्नेगरी बिहीबार बिनानिष्कर्ष टुंगिएको हो । निर्वाचन आयोगले खसआर्य समुदायका व्यक्ति र पुरुषलाई उपराष्ट्रपति बनाउन नमिल्ने बताएपछि गठबन्धनमा अन्योल देखिएको छ ।
बिहीबार कार्यदलको बैठक बसिरहेका बेला कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले फोन गरेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग उपराष्ट्रपतिको उम्मेदवारबारे जानकारी लिएका थिए ।
जवाफमा थपलियाले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने जानकारी गराए । पुरुष उम्मेदवार बन्न नपाउने भएपछि कार्यदलको बैठक पुनः बस्नेगरी टुंगिएको हो ।

