राष्ट्रपतिमा सत्तागठबन्धनका उम्मेदवार पौडेल बिजयी
काठमाडौं ।संघीय नेपालको चौथो राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई हराउँदै सत्ता गठबन्धनबाट उम्मेदवार बनेका पौडेल राष्ट्रपतिमा विजयी भएका हुन् ।

बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा मतदानमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाए । नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाए । यस्तै पाँच मत भने बदर भएको छ । तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।
पूर्व सभामुखसमेत रहेका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार रहेका थिए । साथै अर्का पूर्व सभामुख नेम्वाङलाई एमालेको साथ छ ।
निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता सहभागी रहेका थिए । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको थियो ।

