खुम्बु पासाङल्हामुमा पाँचदिने प्रारम्भिक बाल विकास तथा शिक्षा सम्बन्धी तालिम सम्पन्न
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।हिमालयन ट्रष्ट नेपालले खुम्बु पासाङल्हामु गाउँपालिकासँगको समन्वयमा आयोजित पाँचदिने प्रारम्भिक बाल विकास तथा शिक्षा सम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ३ स्थित महेन्द्र ज्योति माबि चौरीखर्कमा संचालन भएको तालिममा खुम्बु पासाङल्हामु गाउँपालिकाका विद्यालयहरुका १६ जना बालकक्षा शिक्षकहरुको सहभागिता रहेको थियो ।
तालिमको समापन कार्यक्रममा खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीले तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नुहुँदै तालिम आयोजना गरेकोमा हिमालयन ट्रष्टलाई धन्यवाद ज्ञापन गर्दै सिकेका सिपहरुलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।
खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ३ का कार्यबाहक अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा हिमालयन ट्रष्ट नेपालका कार्यक्रम व्यवस्थापक ल्हाक्पा तेन्जी लामा, महेन्द्र ज्योति माविका प्रधानाध्यापक कुमारसिंह राई, हिमालयन ट्रष्ट नेपालका शिक्षा सल्लाहकार तथा मुख्य तालिम प्रशिक्षक महेन्द्र कठायत लगायत वक्ताहरुले तालिमको महत्व र कार्यान्वयनबारे आ–आफ्ना धारणा व्यक्त गरे ।
सहभागीहरुको तर्फबाट आफ्नो धारण राख्दै पाङबोचे आधारभुत विद्यालयका शिक्षक चंख ठोकर र पेमा छोलिङ आधारभुत विद्यालयका शिक्षक ङिमा पसी शेर्पाले तालिम उपयोगी रहेको भन्दै कक्षाकोठामा लागु गर्ने प्रतिबद्धता व्यक्त गरे ।
न्युजिल्याण्ड एड प्रोग्राम र हिमालयन ट्रष्ट न्युजिल्याण्डको सहयोगमा हिमालयन ट्रष्ट नेपालले संचालन गरिरहेको “गुणस्तरीय शिक्षा कार्यक्रम सोलुखुम्बु” अन्तर्गत सो तालिम आयोजना गरिएको हो ।

