मानवअधिकार रक्षाका लागि सक्दो सहयोग गर्ने मन्त्री राजभण्डारीको प्रतिबद्धता
बिराटनगर।कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले प्रदेश भित्रको मानवअधिकार सुधारका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्(ईन्सेक)का अध्यक्ष डा.कुन्दन अर्याल सहितको टोलिसँगको बिहिवार भएको भेटमा वहाँले यस्तो बताउनुभएको हो । मन्त्री राजभण्डारीले मानवअधिकारको क्षेत्रमा बिगतदेखि नै कार्य गर्दै आएको तथा ५० को दशकमा ईन्सेक प्रतिनिधिकै रुपमा कार्य गरेको स्मरण गर्दै वहाँले अझै पनि मानवअधिकार हननको घटनामा न्युनिकरण गर्न धेरै कसरत आवश्यक रहेको आवश्यकता औल्याउनुभयो ।
भेटका क्रममा ईन्सेक अध्यक्ष अर्यालले मानवअधिकारको क्षेत्रमा अझ सुधार ल्याउन तथा प्रभावकारी कार्य गर्न प्रदेशसँगको सहकार्य अपरिहार्य रहेकाले प्रदेश भ्रमणमा निस्किएको प्रष्ट पार्नुभयो । आगामी दिनमा प्रदेश सरकारसँग समन्वय गरी मानवअधिकारको क्षेत्रमा कार्य गर्ने वहाँले बताउनुभयो ।यसक्रममा अध्यक्ष अर्यालले मानवअधिकार बर्ष पुस्तक २०७९ तथा अन्य सम्बन्धित दस्तावेजहरु समेत मन्त्री राजभण्डारीलाई हस्तान्तरण गर्नुभयो ।
भेटमा अध्यक्ष सहित ईन्केकका बोर्ड सदस्य नरनाथ लुईटेल, कार्यकारी निर्देशक बिजयराज गौतम एवं कोशीप्रदेश संयोजक सोमराज थापाको सहभागिता रहेको थियो । प्रदेश भ्रमणका क्रममा टोलिले प्रदेश प्रमुख, मुख्यमन्त्री, सुरक्षा निकायका प्रमुखलगायतसँग पनि भेटघाट गर्ने जनाईएको छ ।(फाइल फोटो)