प्रचण्ड सरकारलाई रास्वपाको समर्थन कायमै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ ।सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको केन्द्रीय सदस्य गणेश पराजुलीले जानकारी दिए।

अर्को निर्णय नहुँदासम्म सरकारका विषयमा पार्टीको पूर्व निर्णय नै कायम रहने रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । रास्वपाले गत २२ माघमा नै सरकारबाट बाहिरिने तर समर्थन कायम राख्ने निर्णय गरेको थियो ।
पुस १० गते बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनमा रास्वपा पनि सामेल भएको थियो। सर्वोच्च अदालतले नागरिकता सम्बन्धी विवादमा सांसद हुन अयोग्य फैसला गरेपछि पार्टी सभापति रवि लामिछानेको गृहमन्त्री पद गएको थियो।
लामिछानेको पद गए पनि फेरि गृहमन्त्रीमै रास्वपाले दाबी गरेको थियो। तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई गृहमन्त्री दिएनन्। गृहमन्त्री नपाएपछि रास्वपा सरकारबाट फिर्ता भएको थियो। नेकपा एमालेले गठबन्धन टुटेको ३ दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फागुन १३ गते नै सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीले राजीनामा दिएका थिए।

