बसन्तपुरमा लिंगोसहित रंगीविरंगी चीर उठाइयो, आजबाट होली पर्व सुरु
काठमाडौं। वसन्तपुर दरबार स्क्वायरमा लिंगोसहित रंगीविरंगी चीर उठाइएसँगै आजबाट विधिवत् रुपमा फागु सुरु भएको छ।
आज बिहान ७:४५ बजेको साइतमा चीर ठड्याइएको हो।

चीर ठड्याउनु अघि दरबार क्षेत्रबाट गुरुजुको पल्टन पशुपति पुगेको थियो। त्यहाँ रहेको गोरखनाथको मन्दिरमा गुर्जुको पल्टनले सलामी दिनुका साथै मयलको रुखको हाँगा लिएर गुरुजुको पल्टनले पशुपतिनाथमा चढाएको थियो। शार्दुलजंग गुल्मबाट गएको टोलीले पशुपति क्षेत्रमा रहेको श्लेष्मान्तक वनबाट मयलको रुखको हाँगा काटेर पशुपतिनाथलाई चढाएर वसन्तपुर ल्याइएको थियो।
यसरी मयलको रुख चढाएर पशुपतिनाथलाई वसन्तपुरमा होली खेल्न निमन्त्रणा दिने चलन रहेको छ।अबको ८ दिनपछि अर्थात् फागु पूर्णिमाको दिन हर्षबढाइँ गरेर यो चीर ढालिन्छ। ढालिएको चीरलाई घिसार्दै टुँडिखेलमा लाने चलन छ। चीरको दहन गरेपछि औपचारिक रुपमा यस वर्षको होली सकिनेछ।(सांकेतिक तस्बिर)

