प्रधानमन्त्री दाहाल १९ गते कतार जाने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल अति कम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन कतार जाने भएका छन् । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही फागुन १९ गते शुक्रबार सो सम्मेलनमा सहभागी हुन कतारको दोहा प्रस्थान गर्ने जानकारी दिएकी हुन् ।

त्यसक्रममा प्रधानमन्त्री दाहालले सो सम्मेलनलाई सम्बोधन गर्नेछन् । त्यसैगरी सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग पनि प्रधानमन्त्री दाहालले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ । नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री दाहाल सहभागी हुनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रवक्ता लम्सालले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा अति कम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलन दोहामा हुँदैछ ।
४ दिनको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री दाहाल फागुन २२ गते स्वदेश फर्कने छन् । प्रधानमन्त्री दाहालसँग परराष्ट्र मन्त्रालयका अधिकारी सो सम्मेलनमा सहभागी हुनेछन् ।

