सोलुखुम्बुका ६ स्थानीय तहमा रीड नेपालले सम्पन्न गर्यो शिक्षा क्षेत्र योजना निर्माण पूर्व तयारी वैठक
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।रीड नेपालले सोलुखुम्बुका ६ वटा स्थानीय तहमा शिक्षा क्षेत्र योजना निर्माण पूर्व तयारी वैठक सम्पन्न गरेको छ।सोलु दुधकुण्ड नगरपालिकामा स्थानीय तह शिक्षा क्षेत्र योजना निर्माण पूर्व तयारी वैठक आयोजना गरेसंगै रिडले ६ वटा स्थानीय तहमा सो प्रकृतिको बैठक सम्पन्न गरेको शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए।

पछिल्लो पटक सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा उपमेयर गान्धीमाया तामाङको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो। वैठकमा नगरपालिकाका प्रमुख प्रशाशाकीय अधिकृत कोपिला राई र शाखा प्रमुखहरुको उपस्थिति रहेको बैठकले फागुन १८ गतेदेखि २० गतेसम्म योजना निर्माण कार्यशाला गोष्ठीको आयोजना गर्ने निर्णय गरेको छ। त्यसैगरी बैठकले प्रमुख प्रशासकीय अधिकृत कोपिला राईको संयोजकत्वमा १३ सदस्यीय योजना निर्माण समिति समेत गठन गरेको छ। समिति सदस्यमा रीड नेपालबाट शिक्षा विकास संयोजक केशव गिरी, शिक्षा कार्यक्रम प्रबन्धक मुक्ति घिमिरे लगाएत शिक्षा प्रेमी, प्रधानाध्यापक तथा शिक्षकहरुलाई समेटिएको छ। त्यसैगरी वैठकबाट स्थानीय तह शिक्षा योजना निर्माणमा लाग्ने लागतको ३० प्रतिसत खर्च नगरपालिकाले बेहोर्ने निर्णय गरेको छ।
कार्यक्रमको सहजीकरण रीड नेपालका शिक्षा कार्यक्रम प्रबन्धक मुयांकन प्रबन्धक मुक्ति घिमिरे र शिक्षा विकास संयोजक केशवदेव गिरीले गरेका थिए।रीड नेपालले खुम्बुपासाङल्हामुबाहेक सोलुखुम्बुका ७ ओटै स्थानीय तहको शिक्षा क्षेत्र योजना निर्माण गर्ने जनाएको छ। यो भन्दा अगाडी यही प्रकृतिको बैठक थुलुङ दुधकोशी र माप्य दुधकोशी,सोताङ,महाकुलुङ,नेचासल्यान गाउँपालिकामा सम्पन्न भईसकेको रीड नेपालले जनाएको छ।

