राजसंस्था र दलहरूबीच बिश्वासका साथ सहकार्य आवश्यक : पूर्बराजा ज्ञानेन्द्र
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आगामी उज्यालो भविष्यको लागि राष्ट्रिय बहस आवश्यक भएको बताएको भन्दै नेपालको निरन्तर अधोगतिप्रति अब मौन रहन नसक्ने बताउनुभएको छ ।

७३औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिंदै वहाँले नेपाल एकीकरणको झन्डै २४० वर्षपछि आफूहरुले शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझाएको भए पनि अहिले नेपाल विग्रहको चपेटामा फसेको बताउनुभएको छ।
“नेपाल एकीकरणको झन्डै २४० वर्षपछि हामीबाट शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझाएका थियौं,”वहाँलेले भन्नुभएको छ, “विविधतापूर्ण नेपाल अधिराज्यलाई थप प्रतिनिधिमुलक र समावेशी बनाउने प्रयासको विस्तार स्वागत योग्य भए पनि अहिले कुशासन, भ्रष्टाचार, निराशलाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा नेपाल फसेको छ ।
“देश र जनताभन्दा दलगत, पारिवारिक, व्यक्तिगत लोभ र लालचको जन्जालमा राजनीतिक दलका नेताहरु फसेका छन् । तिनका धेरै कार्यक्रममा राजनीति छत्रछायाँ नभइ जीवनमा केही हासिल गर्न सकिँदैन भन्ने मनोभाव विकसित गरिएको छ,” शाहको भनाई छ।
“शोककूल अवस्थाको अत्यन्तै प्रतिकूल पलहरुमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौं र देश छोडेर पनि गएनौँ । तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं । यी यावत वर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा पर्न थालेको छ । अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोेकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको विलम्ब गर्नुहुँदैन।

