नयाँ बसपार्क तोडफोड प्रकरणमा संलग्न ६ जना समातिए
काठमाडौं। काठमाडौंको गोंगबुस्थित नयाँबसपार्क क्षेत्रमा तोडफोडमा संलग्न ६ जनालाई पक्राउ गरेको छ।

गत आइतबार माछापोखरी चोकमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका व्यवसायीहरूले ट्राफिक कारबाहीको विषयलगायत विभिन्न दसबुँदे माग राखी गरेको विरोध प्रदर्शन कार्यक्रममा तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरूलाई सोमबार सार्बजनिक गरेको हो।
सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोका आधारमा हुलिया पहिचान गरी खोजतलास गर्दै जाने क्रममा बमोजिम पक्राउ पर्नेहरूमा उदयपुर बलमता गापा-२ घर भई काठमाडौं ताराकेश्वर-१० मनमैजु बस्दै आएका विक्रम राई, नुवाकोट पञ्चकन्या गापा-३ घर भई काठमाडौं टोखा नगरपालिका-३ बानियाँटार बस्दै आएका रामहरि भण्डारी, लमजुङ बेसीसहर-५ घर भई काठमाडौं ताराकेश्वर-१० बस्दै आएका विवेक श्रेष्ठ रहेको काठमाडौं प्रहरीले जनाएको छ।
यसैगरी जिल्ला काभ्रेपलाञ्चोकक मानेडाडाँ घर भई काठमाडौँ महानगरपालिका-१६ बस्दै आएका राजेश तामाङ, प्युठान कडी गापा-१ घर भई गोंगबुँ बस्दै आएका दीपेन्द्र पुन मगर र काभ्रेपलान्चोक भुम्लु-२ घर भई काठमाडौँको गंगाहल बस्दै आएका आशिष खड्का पक्राउ परेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका व्यक्तिउपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसुरसम्बन्धी मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट दिन तीन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।

